राजविराज:राजविराज नगरपालिकाका निवर्तमान मेयर भिमराज यादवले मालपोत कार्यालय सप्तरीका प्रमुखसंग कति लाख घुस खायौं भन्दै जवाफ माग गरेका छन् ।
घुस नदिई काम नै नहुने जनगुनासो आएपछि सोमबार मालपोत कार्यालयमै पुगेर उनले प्रमुख झासंग जवाफ मागेका हुन् । जग्गा खरिद विक्रीमा मालपोत कार्यालय प्रमुख झाले जग्गाधनीको सहमति विनै जग्गा पास गरिदिएपछी मेयर यादवले झासंग विपक्षीबाट कति लाख खाएर जग्गा पास गरेको बताउ भन्दै जवाफ मागे ।
जग्गा पास गर्दा कति लाख घुस खायौं ? बताउ ,आक्रोशित हुदै उनले प्रश्न गरे, हजार– पाँचसय घुस नदिंदा कामै रोकिने ? सेवाग्राही त्यसै फर्किनु पर्ने भन्दै कर्मचारीको मनपर्दी नचल्ने चेतावनी समेत दिए । उनले जनताको काम नगरे चारपाटा बाँधेर जनअदालत लैजान्छु भन्न समेत भाए ।
“यो जिल्लामा कर्मचारीको दादागिरी चल्छ, जे मन भयो त्यही गर्न पाउँछ, उनले भने , पाँच सय घुस नदिंदा एउटा लालपुर्जा लिन १५ दिन लागेको छ, यसरी जनतालाई शोषण गर्नु पाइन्छ । “
मालपोत कार्यालय सप्तरीमा पहुँच हुने र पैसा दिनेको कागज पत्र नमिल्दै काम हुने र घुस नदिनेको सबै प्रक्रिया पूरा हुँदा समेत महिनौंसम्म धाउन लगाएर दु:ख दिने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।
झाले कार्यालय प्रमुखको जिम्मेवारी पाएसंगै बर्षौसम्म विवादमा रहेको सार्वजनिक प्रकृतिको जग्गा भटभट व्यक्तिको नाउँमा पास हुन थालेपछि अहिले मालपोत कार्यालय सप्तरी विवादमा तानिएको छ । यस बारे मालपोत प्रमुख झा संग सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।