
काठमाडौँ:क्षेत्रीय तनाव बढ्ने गरी इजराइलमाथि दोष लगाइएको घातक हमलाले तेहरानको दमास्कसस्थित वाणिज्य दूतावासलाई ध्वस्त पारेको एक सातापछि इरानका विदेशमन्त्रीले सोमबार सिरियाली राजधानीको भ्रमण गर्नुभएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
दमास्कसको प्रमुख सहयोगी तेहरानले गत सोमबार इरानी दूतावासको कन्सुलर खण्डमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । उक्त हमलामा दुई जनरलसहित सात इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) का सदस्य मारिएका थिए ।
उक्त हमला इजराइल र हमासबीच जारी युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । दमास्कस र तेहरानले हमलाका लागि इजराइललाई दोष दिएका छन् तर इजराइलले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।
इरानी विदेशमन्त्री होसेन अहिर–अब्दुल्लाहियानले एक दिनअघि लामो समयदेखि तेहरान र पश्चिमबीच मध्यस्थकर्ता रहेको ओमानको क्षेत्रीय भ्रमण सुरु गर्नुभयो । ओमान भ्रमणका क्रममा मस्कटका विदेशमन्त्रीले तनाव कम गर्न आह्वान गर्नुभएको छ ।
भ्रमणका क्रममा अमिर–अब्दुल्लाहियानले सिरियाका राष्ट्रपति बशर अल–असद र विदेशमन्त्री फैसल मेकदादसँग भेट गर्ने तयारी गर्नुभएको छ । सिरियाको सूचना मन्त्रालयले भने विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले नयाँ इरानी कन्सुलर खण्डको उद्घाटन गर्नुहुने बताएको छ ।
सिरियाको सरकार समर्थक अखबार अल–वतनले अधिकारीहरूको छलफल ‘मुख्यरूपमा गत साताको हमलाको नतिजामाथि केन्द्रित’ हुने बताएको छ ।
इरानका सर्वोच्च नेताका एक सल्लाहकारले आइतबार सिरियामा हमलापछि अब इजराइली दूतावासहरू ‘सुरक्षित नभएको’ चेतावनी दिएका छन् । विश्लेषकहरूले यसलाई गाजा क्षेत्रमा इजराइल–हमास युद्धभन्दा पर व्यापक युद्ध सुरु गर्ने जोखिम उठाउने इरान र उसका क्षेत्रीय प्रतिनिधिहरूविरुद्धको अभियानको वृद्धिका रूपमा हेरेका छन् ।
बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सोमबारको हमलामा १६ जना मारिएका थिए । मारिनेमा आठ इरानी, पाँच सिरियाली, लेबनानको हिजबुल्लाह समूहका एक सदस्य र दुई सर्वसाधारण रहेका थिए ।
मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हादी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीको विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए ।
इजराइलले १३ वर्षअघि गृहयुद्ध सुरु भएयता सिरियामा सयौँ हवाई हमला गरेको छ । हमलामा इजराइलले हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थान र हतियार भण्डारलाई निशाना बनाएको छ ।
तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा ठूलो मात्रामा इजराइली जवाफी कारवाही भएको छ ।