अर्जुनविरुद्ध जिप्रकामा ४ वटा मुद्दा, जेल सजाय समेत भोगेको

जनकपुरधाम:सोमबार जनकपुरधाम उप–महानगरपालिका ४ विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको हत्यामा संलग्न अर्जुन भन्ने अजयकुमार साहलाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रेस विज्ञप्ति जारी फोटोसहित सार्वजनिक गरेको हो । विज्ञप्तिमा भनिएको छ मृतक प्रिन्स र अर्जुन संगै जटही गएको र त्यहाँबाट बस चढेर जनकपुरधाम आएलगत्तै उनीमाथि छुरा (चक्कु) प्रहार भएको थियो । घाईते अवस्थामा सडकमा लडेका प्रिन्सलाई प्रहरीले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीले घटना भएको एक घण्टा नबित्दै छुरा प्रहार गर्ने युवकलाई पक्राउ गर्यो । पक्राउ परेका जनकपुरधाम ४ शान्तिनगरका २२ वर्षीय अर्जुन भन्ने अजय कुमार साहको साथबाट वारदातमा प्रयोग गरिएको चक्कु बरामद भएको र उनले अपराध स्वीकार गरिसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

उनका अनुसार मृतक प्रिन्स र अर्जुनबीच जटहीमा सामान्य विवाद भएको थियो । जटहीबाट दुबैजना बस चढेर जनकपुरधाम आए । विश्वकर्मा चोक आएलगत्तै प्रिन्सको कठालो समातेर बसबाट तल झारेर अर्जुनले कुटपिट गरेका थिए । कुटपिट गर्दा प्रिन्स र उनका साथी रोषण कुमार झा भाग्न खोजेका थिए । सोही क्रममा प्रिन्सको बाँया साइडको छात्तीमा अर्जुनले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको डिएसपी अवाले बताए ।

अर्जुन लागूऔषध सेवनकर्ता हुन् । डिएसपी अवा भन्छन्, ‘अर्जुनले बस्ने जनकपुरको जिरोमाइल तथा अन्य एरियाहरुमा आफूलाई बाहुबली सम्झिने गर्थे । उनी भारतीय नाकामा गई लागूऔषध सेवन गर्थे । अन्य केटाहरुलाई पनि सेवन गर्न लगाउँथे र भनेको कुरा नमान्नेलाई कुटपिट गर्थे ।’

प्रहरीको रेकर्डअनुसार अर्जुन यसअघि चार घटनामा संलग्न भइसकेका छन् । पटक पटक मुद्दा झेलेपनि उनी सुध्रेनन् । र, फेरि अपराधिक चरित्र प्रदर्शन गरे– चक्कुले यूवक प्रिन्सको हत्या गरेर । अर्जुनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको डिएसपी अवाले जानकारी दिए ।

जारी गरिएको प्रेस विज्ञप्तिमा २०७२ साउन ३२ मा अर्जुन उपर केही सार्वजानिक अपराध सम्बन्धी मुद्दा, २०७८ मंसिर २१ मा सार्वजानिक शान्ति विरुद्धको कसुर मुद्दा दायर भएको हो । २०८० वैशाख ०७ मा चोरी मुद्दामा पक्राउ गरी जिल्ला अदालतको निर्णयबाट पुर्पक्षका लागि जलेश्वर कारागार पठाईएको र२०८० मंसिर १६ गतेमा अभद्र व्यवहार लगायतमा पक्राउ गरी मुद्दा चलाइको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको