
जनकपुरधाम:प्रहरीले छापा मार्ने क्रममा पक्राउ परेका वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी बिरामीको बहानामा अस्पतालमा भर्ना भएका छन् ।
मेडिकल कलेजको ल्याबबाट म्याद नाघेका केमिकल र औषधि बरामद भएपछि अन्सारीलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरी हिरासतमा नबस्न अन्सारी बिरामीको बहानामा वीरगन्जस्थित हेल्थ केयर अस्पतालको डिलक्स केबिन नम्बर– ५ मा भर्ना भएका छन् ।
पक्राउपछि सामान्य स्वास्थ्य परीक्षण गराउन पुगेको प्रहरी टोलीलाई अस्पतालको इमरजेन्सी सेवामा खटिएका चिकित्सकले आइसियूमा लैजान रेफर गरेको बताइएको छ । अन्सारीको परिवारकै जोडबलमा चिकित्सकले अस्पतालमै भर्ना गर्न सिफारिस गरेको स्रोत बताउँछ ।
नारायणी अस्पतालका आकस्मिक सेवामा सोमबार कार्यरत डा. राजीव यादवले रेफर गर्दै लेखेका छन्, ‘बिरामीको ब्लड प्रेसर बढेको छ, १२ वटा लीडमध्ये तेस्रो र छैटौँमा परिवर्तन आएको छ । छाती दुखिरहेको बिरामी भनाइ छ, हामीसँग सुविधासम्पन्न बेड तथा आइसीयू पनि खाली छैन । त्यसकारण थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान रेफर गरिएको छ ।’
मेडिकल कन्सल्टेन्ट (फिजिसियन) डा. यादवको यही रेफर पत्रको आधारमा अन्सारीलाई सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएको प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
उनका अनुसार कानुनले दिएको प्रावधान अन्तर्गत नारायणी अस्पतालले रेफर गरेपछि थप उपचारका लागि अन्सारीलाई अस्पतालमा पठाइएको हो ।
घटनाको अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नुपूर्व मुलुकी फैजदारी कार्यविधि नियमावली, २०७५ अनुसार अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।
यसको परिच्छेद २ मा पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्थाको दफा ७ मा हिरासतमा राख्ने अनुमति दिँदा विचार गर्नुपर्ने कुराबारे भनिएको छ । जसको बुँदा नम्बर (४) मा हिरासतमा रहेको अभियुक्त बिरामी भइ उपचार गर्नुपर्ने देखिएमा अदालत÷मुद्दा हेर्ने अधिकारीले आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिन सक्ने व्यवस्था छ ।
यही कानुनी व्यवस्था अन्तर्गत प्रहरीले हिरासतमा राख्नुपूर्व अन्सारीको सामान्य स्वास्थ्य परीक्षण गराएको पर्सा प्रहरी प्रमुख ढुंगेलको भनाइ छ ।