जनकपुरधाम:हातहतियार सहित वन्यजन्तु चोरी सिकारी घटनामा पर्सा राष्ट्रिय निकुञ्जले २ जना प्रदेश सांसद र गाउँपालिका पूर्वअध्यक्षलाई सफाइ दिएको छ भने अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय तोकेको छ । निकुञ्जको फैसलाले ‘सानालाई ऐन, ठुलालाई चैन’ उक्ति चरितार्थ गरेको स्थानीयवासी बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको एकल इजलासले बागमती प्रदेशका सांसद श्याम बहादुर खड्का, मधेस प्रदेशका सांसद प्रमोद जैसवाल र उनका भाइ प्रदीप जैसवाललाई सफाइ दिएको हो ।

प्रदीप जैसवाल पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् भने प्रमोद जैसवाल पर्सा निर्वाचन क्षेत्र नं ३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद हुन् । प्रमोद हाल मधेस प्रदेशको शिक्षामन्त्री छन् ।

४८ जना प्रतिवादी भएको सो मुद्दामा निकुञ्जले २ जना प्रदेश सांसद र पूर्व गाउँपालिका अध्यक्षलाई सफाइ दिएको छ । निकुञ्ज प्रशासनले २०८० पुस १७ गते गुपचुप रुपमा सो फैसला गरेको स्रोतले जनाएको छ ।

पर्सा निकुञ्जभित्र हातहतियार र बन्दोबस्तीको सामानसहित गाडीको प्रयोग गरेर मध्यरातमा वन्यजन्तुको चोरी सिकारी भएको सो मुद्दामा तत्कालीन समयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले समेत अनुसन्धान गरेको थियो ।

२०७९ पुस ४ गते राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट २ लाख ९० हजार ६७० नगद, ल्याण्डक्रुजर र बोलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको गोली राउन्ड १, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामेरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कम्पार्टमेन्ट, टर्च लाइट, मोबाइल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रसहित ५ जनालाई मध्यरातमा नियन्त्रणमा लिएको थियो ।

सो घटनामा निकुञ्जका सेना र वन्यजन्तु सिकारीबिच रातभर दोहोरो झडपसमेत भएको थियो । झडपको क्रममा वन्यजन्तु सिकारीहरू भागेर प्रदेश सांसद प्रमोदकुमार जैसवालको फार्म हाउसमा लुकेका थिए । पछि उनको फार्म हाउसमा तलासी लिने क्रममा मारेर राखेको जरायो, नगद रकम र अन्य बन्दोबस्तीको सामान सेनाले बरामद गरेको थियो ।

साथै वन्यजन्तु चोरी सिकारीमा प्रयोग भएको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी जैसवाल इन्टरप्राइजेजको नाममा रहेको निकुञ्जले जनाएको थियो । वन्यजन्तु मार्न प्रयोग भएको हतियार बागमती प्रदेश सभा सदस्य श्यामबहादुर खड्काको नाममा भेटिएको थियो ।

तत्कालीन प्रमुख संरक्षण अधिकृत अशोक रामको कार्यकालमा भएको घटनामा निकुञ्जको तर्फबाट विष्णु पौडेल अनुसन्धान अधिकृत खटिएका थिए भने पछि अजित यादवलाई अनुसन्धान अधिकृत तोकिएको थियो ।

२ जना बहालवाला सांसद, पूर्व गाउँपालिका अध्यक्षसहित ४८ जना विरुद्ध दायर मुद्दामा पर्सा राष्ट्रिय निकुञ्जले १२ जनालाई कैद र जरिवाना तोकेको छ भने ३३ जना प्रतिवादीको नाम, ठेगाना नखुलेको जनाएको छ ।

सो घटनामा प्रतिवादी झापस दास थारुलाई ३० हजार जरिवाना र ६ महिना कैद, नवराज बस्नेतलाई ५० हजार जरिवाना र ६ महिना कैद, विशाल सहनीलाई ३० हजार जरिवाना र ६ महिना कैद, दामोदर अधिकारीलाई ३० हजार जरिवाना र ६ महिना कैद तोकिएको छ ।

यस्तै म्याङ्ग डोङ्ग तामाङलाई ३० हजार जरिवाना र ६ महिना कैद, प्रतिवादी प्रमोद कुमार जैसवाललाई सफाइ, प्रतिवादी प्रदिपकुमार जैसवाल सफाइ र वन्यजन्तु तस्करीमा प्रयोग भएको जैसवालको प्र २–०३– ००१ च ३०९७ गाडी जफत नभएको, प्रतिवादी संजीव शाहीले सफाइ पाएको र बा ५ ख ७८०५ नम्बरको गाडी जफत नभएको निकुञ्ज प्रशासन स्रोतले जनाएको छ ।

प्रतिवादीहरू प्रकाश के.सी, सुलन मियाँ अन्सारी, भोला बहादुर पुन मगर, विकास कुमार सहनी र उपेन्द्र राय यादवलाई ४०÷४० हजार जरिवाना तोकिएको छ । साथै प्रतिवादी कुमार ध्वज लामालाई ५० हजार जरिवाना र ६ महिना कैदको फैसला सुनाइएको छ । बागमती प्रदेश सभाका सदस्य श्याम बहादुर खड्काले पनि सफाइ पाएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले २ जना प्रदेश सांसद र गाउँपालिका पूर्वअध्यक्षको हकमा प्रमाण नपुगेकाले सफाइ दिएको बताएका छन् ।

वन्यजन्तु चोरी तस्करीमा पर्सा ३ (क) का प्रदेश सभा सदस्य प्रमोद जैसवाल र उनका भाइ प्रदीप जैसवालको नाममा रहेको फार्म हाउस र गाडी प्रयोग भएको र उनको फार्म हाउसबाट जफत भएको जरायोको मासुसहित अन्य बन्दोबस्ती सामग्रीको हकमा प्रमाण नपुगेकाले सफाइ दिएको खतिवडाको भनाइ छ ।

‘प्रमाण मैले सङ्कलन गरेर राख्ने होइन । मिसिलमा जे थियो, त्यहीँ भएका प्रमाण, कागज, तथ्यलाई आधार मानेर प्रमाण पुग्यो भने जफत हुने हो, प्रमाण नपुगेको हुनाले मान्छेले पनि सफाइ पायो, सवारी साधनले पनि सफाइ पायो,’ रातोपाटीसँग प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘जुन दफाले अधिकार दिएको छ, त्यसैलाई टेकेर फैसला गरियो । फैसला दिन मिल्दैन, अरु बाँकी कुरा तपाईंहरू आफैँ खोज्नुहोला ।’

वन्यजन्तु चोरी सिकारीको घटनामा राष्ट्रिय निकुञ्ज ऐनको कुन दफालाई टेकेर सफाइ दिएको हो भन्ने विषयमा खतिवडाले केही भन्न चाहेनन् । ‘मिसिलमा जुन अभियोग र दाबी थियो, त्यो दाबी नपुग्नेहरूलाई सफाइ दिइएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको