जनकपुरधाम:सशस्त्र प्रहरी बल (एपीएफ)को सतुंगलस्थित केन्द्रीय गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र बरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठको समिति बनाइएको छ ।
समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ । आगलागीको कारण, क्षतिको विवरण र आगामी दिनमा यस्तो हुन नदिन गर्नुपर्ने कामहरुको बारेमा समेत सुझासहितको प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ ।
सोमबार साँझ आगलागी भएको घटनामा यसअघ सशस्त्र प्रहरी बलले एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । आगलागीबाट ठूलो मात्रामा बन्दोबस्तीका सामानहरु जलेको सशस्त्र प्रहरीले जनाएको छ ।