वास्तविक मूल्यभन्दा डेढ लाख रुपैयाभन्दा बढी फाइदा लिइरहेको दाबी

जनकपुरधाम:यामाहा कम्पनीको मोटरसाइकलमा वास्तविक मूल्यभन्दा डेढ लाख रुपैया बढीसम्म फाइदा लिइरहेको देखिएको छ । यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले वास्तविक मूल्यभन्दा डेढ लाख बढी फाइदा लिई ५ लाख २५ हजारमा बेचिरहेको छ ।

जापानी कम्पनी यामाहा मोटर्सले भारत, चीन, ताइवान, इन्डोनेसिया, थाइल्यान्ड, अमेरिकालगायत स्थानमा उत्पादन प्लान्ट लगाएको छ । नेपाल आउने यामाहा बाइक लगभग सबै भारत निर्मित हुन् । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले भारतबाट सस्तो मूल्यमा मोटरसाइकल ल्याएर यहाँ निकै महंगो मूल्यमा बेच्ने गरेको देखिन्छ ।

माथि चर्चा गरिएको एमटी १५ बीएस ६ बाइकको मूल्य भारतीय बजारमा जम्मा भारू १ लाख ६७ हजार ७ सय पर्छ । त्यसबाट भारतको कानून अनुसार लिन पाइने १५ प्रतिशत मुनाफा कम गर्दा १ लाख ४५ हजार ८२६ मूल्य बाँकी रहन्छ । त्यसमा २८ प्रतिशत जीएसटी (गूड्स एण्ड सर्भिस ट्याक्स) र ९ प्रतिशत रोड ट्याक्स घटाएपछि बल्ल उक्त बाइकको ’फ्याक्ट्री प्राइस’ निस्किन्छ, जुन जम्मा १ लाख ४ हजार ५१९ हुन आउँछ ।

त्यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा १ लाख ६७ हजार २०३ रुपैयाँ पर्ने देखिन्छ, जुन अतिरिक्त छुट वा कमिसनबाहेक नेपाली आपूर्तिकर्ताले उत्पादकलाई दिने अधिकतम मूल्य हो । यसमा आर्थिक वर्ष २०८०÷८१ को एकीकृत भन्सार महसुल दरअनुसार १ सय २० दशमलव ३५ प्रतिशत कर लाग्छ । त्यसपछिको परल मूल्य ३ लाख ६८ हजार ४ सय ९१ नेपाली रूपैयाँ हुन आउँछ । यसमा उत्पादकले दिने छुट र आधिकारिक बिक्रेताले लिने कमिसन समावेश गरिएको छैन ।

एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहा आर१५एम लाई नेपालमा ६ लाख ३४ हजारमा बेच्ने गरेको छ । तर यसको वास्तविक मूल्य भने ४ लाख ३१ हजार मात्र हो । १५५ सीसी इन्जिनमा उपलब्ध हुने यो मोटरसाइकलमा नाफा, जीएसटी र रोड ट्याक्स घटाउँदा मूल्य १ लाख २२ हजार ४६९ भारू हुने देखिन्छ । यसलाई प्रचलित दरअनुसार कर÷भन्सार तिरेर नेपाल ल्याउँदा अधिकतम ४ लाख ३१ हजार नेपाली रुपैयाँ पर्न जान्छ । यसमा २ लाखभन्दा बढी नाफा खाएर बिक्री वितरण हुँदै आएको छ ।

यामाहाको अर्को बाइक एफजेडएस–भी ३ मा पनि कम्पनीले लूट मच्चचाइरहेका छन् । भारतीय बजारमा यसको मूल्य भारू १ लाख २१ हजार ७ सय छ । त्यसबाट मुनाफा, जीएसटी र रोड ट्याक्स हटाएपछिको मूल्य जम्मा ७५ हजार भारू हो । त्यसलाई नेपाली रुपैयाँमा परिवर्तन गरेर नेपाल ल्याउँदा लाग्ने १२० दशमलव ३५ प्रतिशत कर समेत जोड्दा जम्मा २ लाख ६७ हजार नेरु पर्छ । तर अग्रवालले यसलाई ४ लाख ४ हजार ९०० मा बेचिरहेका छन् ।

१२० दशमलव ३५ प्रतिशतमध्ये महसुल दर ३० प्रतिशत, अन्त शुल्क ५० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ । यी सबै करको एकीकृत हिसाब १२० दशमलव ३ प्रतिशत पर्ने राजस्व विभागले जनाएको छ ।

सस्तो मूल्यमा बाइक किन्न चाहनेहरूको पहिलो रोजाई यामाहाको स्यालूटो हो । १२५ सीसीको यो बाइकमा भारतको फ्याक्ट्री मूल्यमा कर जोड्दा जम्मा १ लाख ३५ हजार नेपाली रुपैयाँ पर्न आउँछ । एमएडब्ल्यू इन्टरप्राइजेजले यसलाई त्यसको लगभग दोब्बरमा बेचिरहेको छ । केही वर्षअघि नै उत्पादन बन्द भइसकेको यसको हालको शोरुम मूल्य २ लाख ५५ हजार नेपाली रुपैयाँ राखिएको छ ।

पछिल्लो समय चर्चित १२५ सीसीको इन्जिन रहेको स्कूटर फ्यासिनोमा पनि एमएडब्ल्यू इन्टरप्राइजेजले ठूलो नाफा खाने गरेको छ । करसहित नेपाल भित्रिँदा यो स्कूटरको मूल्य बढीमा १ लाख ७५ हजार पर्ने देखिन्छ । तर अग्रवालले यसलाई २ लाख ८० हजारमा बेचिरहेका छन् ।

यामाहा कम्पनी मात्र होइन बजाज, टिभीएस, हिरो र होण्डा समेत वास्तविक मूल्यभन्दा लाखौ रुपैया बढी नाफा लिई मोटरसाइकल बेचिरहेका छन् । कारवाही गर्ने कानूनी निकायहरुलाई मोटो रकम खुवाएर मोटरसाइकलका अधिकारिक विक्रेताहरुले जनताको ढाड सेक्दै आएका छन् ।

के भन्छ कानून ?

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले आफैं मूल्य निर्धारण गरेको बाहेक सरकारले अनुमति दिएको वस्तुको व्यापारमा २० प्रतिशतभन्दा बढी मूल्य लिन पाइन्न ।

ऐनको दफा ३ मा भनिएको छ, ’दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।’

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत मात्र नाफा राख्न पाइने बताए । उनले भने, ’कुनै–कुनै सामानमा त शतप्रतिशत पनि मुनाफा लिएको पाइएको छ । हामीले उपभोक्ताको ढाड सेक्ने काम नगर्नुस् भन्दा उनीहरूले नाफा नै खान नदिने भए व्यापार किन गर्न दिएको त भन्दै उल्टै प्रतिप्रश्न गर्छन् । हामीले निरन्तर उपभोक्ताको पक्षमा आवाज उठाएका छौं, यसमा सरकार पनि जिम्मेवार हुनुप¥यो ।’

तिमिल्सिनाले भारतबाट पुरानो मोडेल भन्दै सस्तोमा ल्याउने, भन्सार पनि कम तिर्ने र यता नयाँ मोडेल भन्दै प्रचार गरेर महंगोमा उपभोक्ताको ढाड सेक्ने दाबी गरे । उपभोक्ताको हित संरक्षणका लागि आफूहरू कानूनी लडाईं लड्ने तयारीमा रहेको उनको भनाइ छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले सरकारले तोकेको भन्सार दरअनुसार नै सामान आयात हुनुपर्ने र नभएमा कारबाही गरिने बताउंछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको