काठमाडौँ:चीनका राष्ट्रपति सी चिनफिङ र रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बेइजिङमा मङ्गलबार भेटवार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति सीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्ष गाँठ मनाइँदै गरेको उल्लेख गर्दै चीन र रूसले विश्व समुदायसँग सुमधुर सहअस्तित्व र सबैको हितका लागि सहकार्यको नयाँ मार्गमा अघि बढेको बताउनुभयो ।

यसले दुई देश र त्यहाँका जनता लाभान्वित हुनुका साथै अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायमा बुद्धि भई शक्ति प्राप्त भएको राष्ट्रपति सीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रूसी राष्ट्रपति पुटिन र म चीन–रूस सम्बन्धको सहज र स्थिर विकास सुनिश्चित गर्न घनिष्ठ आदानप्रदानलाई निरन्तरता दिन सहमत भएका छौं । राष्ट्रपति पुटिन र मबीच भएको महत्वपूर्ण सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न दुवै पक्षले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ तथा चीन–रुस सांस्कृतिक वर्ष मनाउने अवसरलाई सदुपयोग गर्नुपर्छ ।”

राष्ट्रपति सीले रूसको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्गमा हिँड्न, आतङ्कवादविरुद्ध लड्न तथा सामाजिक सुरक्षा र स्थायित्व कायम गर्न रूस र त्यहाँका जनतालाई सहयोग गर्ने कुरामा जोड दिनुभयोे ।

आफ्नो मुलुकले चीन–रूस सम्बन्धको विकासलाई सधैं ठूलो महत्व दिएको, रूससँग द्विपक्षीय संवादलाई मजबुत बनाउन र ब्रिक्स तथा साङ्घाई सहयोग सङ्गठनमा बहुपक्षीय रणनीतिक समन्वय बढाउन तयार रहेको सीले बताउनुभयो ।

दुई देशले थप जिम्मेवारी देखाउने, समानता, खुलापन, पारदर्शिता र समावेशिताको भावनामा ‘ग्लोबल साउथ’का देशहरूलाई एकताबद्ध गर्ने, विश्वव्यापी शासन प्रणालीको सुधारलाई बढावा दिने र मानवताका लागि साझा भविष्य सहितको समुदाय निर्माणको सशक्त नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको