जनकपुरधाम:अल नेपाल होमियोप्याथिक एशोसिएशन मधेश प्रदेशले होमियोप्याथिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विभिन्न ६ बुँदे माग मधेश सरकारसँग गरेका छन् ।

बुधवार जनकपुरधाममा २६९ औं हैनिमन जयन्ती र विश्व होमियोप्याथिक दिवसको अवसरमा आयोजित कार्यक्रममा होमियोप्याथिक एशोसिएसन मधेश प्रदेशले मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंह कोइरीलाई ज्ञापन बुझाउंदै आफ्ना यस्ता माग गरेका हुन् ।

एशोसिएसनले ज्ञापनपत्र मार्फत प्रदेश भित्रका आयुर्वेद तथा वैकल्पिक जिल्ला चिकित्सालयहरुमा करार नियुक्तिमा कार्यरत होमियोप्याथिक चिकित्सकलाई स्थायी नियुक्ति, होमियोप्याथिक चिकित्सा सेवालाई प्रभावकारी बनाउन फार्मेशी र सहयोगी चिकित्सालयहरुमा व्यवस्था, स्वास्थ्य मन्त्रालय र निर्देशनालयमा होमियोप्याथिक चिकित्सकहरुको दरबन्दी श्रृजना गरी स्थायी नियुक्ति गर्नुपर्ने माग गरेका हुन् ।

का सचिव डा. सजिव कर्णले बुझाएको ज्ञापन पत्रमा लामो समय ३०÷४० वर्षदेखि होमियोप्याथिक चिकित्सा पेशामा लागेकाहरुलाई ओरिएन्टेशन तालिम दिई व्यवस्थापन गर्नुपर्ने, प्रादेशिक बोर्ड गठन, थप बजेट व्यवस्थापन र पालिकाहरुमा निशुल्क स्वास्थ्य शिविर संचालनका लागि छुट्टै बजेट व्यवस्थापन लगायतका माग समेत गरिएको जनाइएको छ ।

कार्यक्रममा सहभागीहरुले प्रदेश सरकारले होमिप्याथिक चिकित्सा सेवाका लागि ६ लाख ८४ हजार रुपैया बजेट उपलब्ध गराउंदै आएकोमा ६ लाख ४० हजार रुपैया चिकित्सकहरुको तलबमै जाने गरेकाले औषधि किन्न र अन्य व्यवस्थापनमा समस्या भइरहेकाले बजेट थप्न आग्रह गरेका थिए ।

एशोसिएसनको माग बारे प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंह कोइरीले होमियोप्याथिक चिकित्सा पद्धतिको विकास गर्दै सेवालाई जनस्तरसम्म प्रभावकारी ढंगले पुरयाउन स्वास्थ्य मन्त्रालयले एशोसिएसनका पदाधिकारी तथा विज्ञहरु राखेर चाँडै बैठक गरी छुटै कार्ययोजना बनाएर अघि बढने र आउंदो आर्थिक वर्षमा थप बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि एशोसिएसनका केन्द्रिय उपाध्यक्ष विरोध महतोले होमियोप्याथिक चिकित्सा पद्धति विश्वभरि फैलिएको र यसले विश्व स्वास्थ्य संगठनबाट एलोप्याथिकको वैकल्पिक पद्धतिको अन्तराष्ट्रिय मान्यता पाइसकेपनि नेपालमा निकै पछाडि परेकाले यसको प्रभावकारितामा प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।

एशोसिएसनका प्रदेश अध्यक्ष मुन्ना कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी होमियोप्याथिक स्वास्थ्य सेवाको संरक्षण र विकासका लागि छुटै नमूना होमियोप्याथिक अस्पतालसहित प्रत्येक स्वास्थ्य चौकी तथा अस्पतालहरु समेत यसको विस्तार गर्न प्रदेश सरकारले कदम चाल्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको