वीरगञ्ज:पर्साको बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुषमा कुशवाहले आफ्नै बहिनिलाई भान्सेमा नियुक्ति गरेर तलब खाँदै आएको पाइएको छ ।

उपप्रमुख सुषमा निर्वाचित भएर आएदेखि नै उनले आफ्नो बहिनी शोभा कुशवाहलाई आफ्नो निजी भान्सेमा नियुक्त गरेर तलब बुझिरहेको देखिएको छ । बहिनी शोभा भान्सेमा नियुक्त भए पनि उनले नगरपालिकाको कामकाज गरेकी छैनन् । उनले मासिक रूपमा पाउने १८ हजार ५ सय रुपैयाँको तलब पनि उपप्रमुख सुषमाले नै बुझ्दै आएको स्रोतको दाबी छ ।

बहुदरमाई नगरपालिकाले चैत २६ गते एक विज्ञप्ति जारी गर्दै करार र दैनिक ज्यालादारीमा काम गर्दै आइरहेका कर्मचारीहरूलाई हटाएको सूचना जारी गरेपछि सोभाने भान्सेमा नियुक्ति पाएको कुरा बाहिरिएको हो । नगरपालिकाले हटाएको कर्मचारीहरूको विवरणमा उनको नाम पनि समावेश छ ।

स्रोतका अनुसार शोभा लामो समयदेखि वीरगञ्जस्थित एक निजी विद्यालयमा शिक्षकका रूपमा काम गर्दै आइरहेकी छन् ।

निजी विद्यालयमा शिक्षकको काम गर्ने उनले नगरपालिकामा भान्सेको नियुक्ति लिएर तलब मात्र बुझ्ने गरेकी थिइन् । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले नै आम नागरिकको करबाट उठेको पैसालाई यसरी दुरुपयोग गर्दा पनि स्थानीय प्रशासनले उनीहरू विरुद्ध कुनै कारबाही नगरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको