जनकपुरधाम:सर्लाही जिल्लाको २० वटै स्थानीय तहको विभिन्न सामुदायिक विद्यालयको प्राथमिक तहमा अस्थायी र करारमा भर्ना भएर सेवा प्रवाह गर्दै आएका ७७ जना शिक्षक हट्ने भएका छन् ।
जिल्लामा शिक्षक सेवा आयोगबाट सिफारिस भएका १८३ जना उम्मेदवारहरुलाई नियुक्ति तथा पदस्थापना गर्न रिक्त स्विकृत शिक्षक दरबन्दी अपुग भई अस्थायी÷करारका शिक्षक हटनु पर्ने अवस्था उत्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।
एक प्रेस विज्ञप्ती जारी गरी स्वीकृत शिक्षक दरबन्दी संख्या १०६ रहेका कारण २०७६ पुस १ गते पछि नियुक्त भएका सबै अस्थायी करार शिक्षकहरु हटनु पर्ने अवस्था देखिएको इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार २०७६ पुस १ देखिको १७ जना, २०७७ मा ४, २०७८ मा २७, २०७९ मा १६ र २०८० मा १३ जना गरेर ७७ सेवामुक्त हुने उनको भनाई छ ।
स्थानिय तहहरुमा बलराबाट–१७ जना, रामनगरबाट–८, धनकौलबाट–२, विष्णुबाट–५, गोडैताबाट–५, कौडेनाबाट–१, मलंगवाबाट–४, ब्रहमपुरीबाट–४, कविलासीबाट–५, हरिपूर्वाबाट–१, बरहथवाबाट–५, पर्साबाट–२, हरिपुरबाट–३, लालबन्दीबाट–४, वागमतीबाट–६ र इश्वरपुरबाट–५ गरेर ७७ जना अस्थायी र करारमा कार्यरत शिक्षकहरु पदमुक्त हुने भएका छन् । २०७६ पुस १ गते पछिका अस्थायी वा करार नियुक्ति रहेको इकाइ, सर्लाहीले जनाएका छन ।
सर्लाही जिल्लामा सामुदायिक विद्यालयको संख्या ५ सय भन्दा बढी रहेका छन । सर्लाहीमा न्यूनतम आवश्यक दरबन्दी प्रावि तहमा २ हजार ५९ जना शिक्षक मध्ये १ हजार २ सय २१, आधारभुत तह (६–८) मा ६ सय २८ जना जसमध्ये ३ सय ९७ जना, मावि तहमा ४ सय ५५ जसमध्ये दरबन्दी २ सय ६३ जना, उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा १ सय १४ मध्ये ८३ जना शिक्षकको रहेको छ ।
सर्लाहीमा प्रावि तहमा ८३८, आधारभूत तहमा २३१, माविमा १९२ र उच्च तहमा ३१ गरी न्यूनतमा आवश्यक शिक्षक दरबन्दी भन्दा १२९२ वटा कम दरबन्दी रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताए । २०५८ पछि स्वीकृत शिक्षक दरबन्दी र २०६७ पछि शिक्षक अनुदान कोटा (राहत) थपिएका छैन, इकाइ प्रमुख महतोले भने ।
विद्यालयमा विद्यार्थीहरुको संख्या तथा कक्षा कोठा थपिदै जाने क्रम जारी नै रहेका छन । विद्यार्थीको संख्याका आधारमा शिक्षक दरबन्दी र शिक्षक समेत नथपिदा विद्यालयहरुमा शिक्षकको अभाव र पठनपाठनमा समस्या हुदै आएको उनले भने ।