जनकपुरधाम: उपप्रधान एवंम गृहमन्त्री रवि लामिछानेले जनकपुरधाममा आरती साहका परिवार र मिटरब्याज पीडितहरूसँग छलफल गरेका छन् ।
जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुनु अघि उपप्रधान तथा गृहमन्त्री लामिछानेले आरती साहका परिवारसँगको भेटघाटको क्रममा उनको मृत्यु प्रकरणबारे अनुसन्धान तथा छानबिन थालिएको बताए ।
सो क्रममा उनले मिटरब्याज पीडितसंगसमेत भेटघाट गरेका छन् । उनले यसअघि भएको सहमति कार्यान्वयनको अवस्थाको बारेमा पनि छलफल गरेका थिए । मिटरब्याज पीडित संघ धनुषाका अध्यक्ष अवधेश कुशवाहा सहितको टोलीसँग भेटघाट गर्दै सहमति अनुसार पीडितलाई जिल्लामै समन्वयको अवस्थाबारे बुझेका थिए ।
सोही क्रममा सुरक्षा अधिकारीहरूसँग रहेकै बेला होटलमा आइपुगेका मिटरब्याज पीडित सर्वनारायण राय । धनुषाको धनौजी गाउँपालिका ४ का राय गृहमन्त्री नजिक पुगेर भावुक बने । उनमाथि नजर परे लगत्तै गृहमन्त्री रविले सोधिहाले– के भयो बुवा ?
गृहमन्त्रीको व्यस्तता देखेर राय केहि बोल्न सकिरहेका थिएनन् । तर गृहमन्त्रीले नै सोधेपछि राय खुले । र, पीडा पोखे– हजुर, ममाथि ठूलो अन्याय भएको छ । मेरो करोडौँको सम्पत्ति बेइमानले हड्पियो । मलाई न्याय गरिदिनुस् । गृहमन्त्रीसँग पीडित रायले बिन्ती गरे, ‘हजुर, सरकारले तोकेको १० प्रतिशत ब्याज जोडेर ऋण चुक्ता गर्न तयार छु । मेरो जग्गा फिर्ता गराइदिनुस् ।’
पीडित रायको पीडा सुनेपछि गृहमन्त्री रविले आश्वासन दिए, ‘बुवा चिन्ता नगर्नुस्, काम गरिरहेको छु । न्याय पाउनुहुन्छ । आयोग पनि बनेको छ । आयोगले पनि काम गरिरहेको छ । सबै मिटरब्याज पीडितलाई न्याय दिन्छौँ ।’
राय केहि वर्ष अगाडी सुजित चौधरीसँग ५ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए । जसमध्ये चौधरीलाई १ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिरहेका छन् । ‘बाँकी रुपैयाँ ब्याजसहित चुक्ता गरिदिने भन्दै आएका थिएँ’, रायले सुनाए, ‘तर ऋण चुक्ता गर्न ढिलो भएको निहुँमा चौधरीले जनकपुरधामको ५ धुर जग्गा लिलामी गराइदिए ।’