काठमाडौ:नगरपालिका मेयरमा पराजित भएकी कपिलवस्तुकी विमला घिमिरे राष्ट्रियसभा उपाध्यक्ष बनेकी छन् । बुधबार भएको उपाध्यक्षको निर्वाचनमा एमालेबाट घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका हुन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन् ।
२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् । कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची हो ।
घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिइएकी थिइन् । बुवा भारतमा काम गर्ने र परिवारमा जेठो सन्तान भएपछि घरधन्दा पनि मिलाउनुपर्थ्यो । यस्तो थिचोमिचो हटाउनका लागि उनले स्कुल जीवनबाटै राजनीति सुरू गरेकी थिइन् ।
पहाडको कष्टकर जीवनशैली टार्न बिमलाका बुबाआमा दिनप्रसाद घिमिरे र रुपकला मधेश झरे । २०४० सालमा २ छोरी १ छोरासहित अर्घाखाँचीको ढिकुराबाट कपिलवस्तुको कोपवा बसाइ सरेका हुन् घिमिरे परिवार । नयाँ ठाउँमा चिन्ने कोही थिएन । विपन्न र सामान्य मानिस हेपिएर बस्न बाध्य थिए । खेतबारीमा सिँचाइ गर्न अन्तिममा पालो पर्ने र महिलालाई दबाएर राख्ने प्रवृत्ति थियो ।