जनकपुरधाम:चैते धान बालीको लागि डिएपी र युरिया मलको माग बढेपछि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले बफर स्टक (संचित मौज्दात) को मल बितरण गर्न थालेका छन् । वीरगन्जस्थित कम्पनी र कर्पोरेशनको मधेश प्रादेशिक कार्यालयहरुले दुई सातादेखि संचित मौज्दातको मल मातहतका जिल्लाहरुमा परिचालन गर्न थालेका हुन् ।
सामान्यतया यी संस्थानले संचित मौज्दातको मल आपतकालीन अवस्थामा तथा नेपाल कृषि अनुसन्धान परिषद, बीजवृद्धि कार्यक्रम जस्ता सरकारी निकायहरुलाई आवश्यक परेको बेला वर्षैभरि उपलब्ध गराउन भण्डारण गरी राख्ने गरेका छन् । नियमित रुपमा भित्रिने मलको कूल परिमाणबाट १० प्रतिशत छुट्याएर यसरी संचित मौज्दात राख्ने चलन रहेको छ ।
तर यसपटक चैते धान बाली सिजनको माग नियमित आएको मलले पनि धान्न नसकेपछि संघीय कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको निर्देशनपछि दुबै संस्थानले संचित मौज्दातको मल समेत परिचालन गरेका हुन् ।
कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार प्रादेशिक कार्यालयसँग १ हजार ७ सय टन डिएपी र २ हजार ४ सय टन युरिया मल संचित मौज्दात रहेकोमा मातहतका १६ जिल्लाहरुमा यसै मौज्दातको मल परिचालन गरिंदैछ । सम्बन्धित जिल्लाहरुले प्राप्त गरेको कोटाकै आधारमा मल परिचालन भइरहेको उनले बताए ।
‘प्रत्येक जिल्लास्थित कृषि ज्ञान केन्द्रले गरेको सिफारिसको आधारमा ती जिल्लाहरुमा मल परिचालन गरिँदैछ,’ उनले भने, ‘पर्सामा मात्रै २ सय ५० टन युरिया र त्यतिनै परिमाणमा डिएपी मल परिचालन भइरहेको छ ।’
यता कर्पोरेशन मधेश प्रादेशिक कार्यालय वीरगन्जसंग ९ सय १७ मेट्रिक टन युरिया र ७ सय मेट्रिक टन डिएपी मलको मौज्दात रहेकोमा सोही मौज्दातबाट मातहतका ८ जिल्लाहरुमा मल परिचालन भइरहेको कार्यालयका सूचना अधिकृत संजय साहले जानकारी दिए ।
‘हामीले संघिय र प्रादेशिक मन्त्रालयको निर्देशन अनुसारनै संचित मौज्दातको मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘चैते धान उत्पादनको लागि भनेर मन्त्रालयहरुबाट मल परिचालनको निर्देशन आएको हो ।’