जनकपुरधाम:उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने राजश्व चुहावट रोक्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

जनकपुरमा मधेश प्रदेश स्तरीय सुरक्षा समन्वय बैठक सकेर बाराको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर वीरगञ्ज पुगेका गृहमन्त्री लामिछानेले वीरगञ्जबाट राजस्व चुहावटलाई कम गर्ने विषयमा भन्सार प्रशासक तथा सुरक्षा निकाय एवम् सम्बन्धीत सरोकारवालासँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

बारा तथा पर्साका सीमा नाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उनले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सुरक्षा निकाय र भन्सारका कर्मचारीसँग सेटिङ् मिलाएर सीमा नाकाबाट तस्करहरुले तस्करी गर्न थालेपछि राजस्व चुहावट हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण भएको हो । गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढंगले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश गरे ।

‘उद्योगी–व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम हाम्रो हो । त्यसमा कुनै पनि चिन्ता नलिनुस् । तपाईँहरूलाई कसैले पनि विभिन्न डर, धम्की र दबाब दिन सक्दैन । त्यसको ग्यारेन्टी म लिन्छु,’ उनले भने, ‘म वीरगन्जमा उभिएर बहालवाला गृहमन्त्रीको हैसियतले भनिरहेको छु, नियम कानुनको अधीनमा रहँदा तपाईँहरूलाई कसैले दबाब सृजना गर्न सक्दैन । न त यहाँ गुण्डागर्दी चल्छ । न त यहाँ हप्तागिरी चल्छ । न त प्रशासनकै चल्छ । न त अमूक मान्छेकै चल्छ । बस्, यहाँ केवल चल्छ त कानुनीराज र विधिको शासन मात्रै चल्छ ।’

छलफलमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उद्योगी व्यवसायी, भन्सारका कर्मचारी लगायतका सुरक्षा निकाय लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको