जनकपुरधाम:सुदूरपश्चिममा निर्णायक शक्तिका नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेश सरकारको नेतृत्व गर्ने गरी सत्ता गठबन्धनको शीर्ष तहमा समझदारी भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री र एक मन्त्रालय दिन तयार भएका नेताहरू बताउँछन् ।
लामो समयदेखि निरन्तर सत्ता गठबन्धनसँग सम्पर्कमा रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई सत्ताघटक दलका शीर्ष नेतृत्वले सुदूरपश्चिमको मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालय दिने समझदारी गरेको नाउपा नेताहरूको दाबी छ ।
नाउपाका संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार सत्ता गठबन्धनबाट पहिलो कार्यकाल नाउपाले सुदूरपश्चिमको नेतृत्व गर्ने समझदारी भएको छ । यद्यपि कुन दलले कति समय नेतृत्व गर्ने भन्नेमा केही सहमति नभएको उनको भनाइ छ ।
‘पहिलो कार्यकाल हामीले नेतृत्व गर्ने समझदारी भएको छ । समयावधिबारे टुंगो लागेको छैन,’ उनले भने, ‘गठबन्धन दलहरूको आपसी समझदारीमा त्यो विषय टुंग्याइने छ ।’
नाउपाले संघमा पनि एउटा मन्त्रालय पाउने छ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएपछि एक महिनाभित्रै संघ सरकारमा पनि नाउपा सहभागी हुने नेताहरूको भनाइ छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित संघमा ४ सांसद छन् ।
रञ्जिता यसअघि पनि मन्त्री थिइन् । यसपटक उनी मन्त्री नदोहोरिने बताउँदै आएकी छन् । त्यसो भए नाउपाका अर्का सांसद मन्त्री हुने छन् ।
यसअघि लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार मन्त्रालय पाएको नाउपाले त्यहाँ थप एउटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । लुम्बिनीमा नाउपाका ४ सांसद छन् ।
यस्तै, १ सांसद रहेको मधेसमा पनि नाउपाले राज्यमन्त्रीसम्म पाउनुपर्ने माग राखेको छ । ‘प्रधानमन्त्रीज्यू हाम्रो मागप्रति सकरात्मक हुनुहुन्छ ।
गठबन्धनमा अफ्ट्यारो नपर्ने गरी सम्मानजनक व्यवस्थापन गर्ने प्रतिबद्धतता गर्नुभएको छ,’ पण्डित भन्छन्, ‘अन्य प्रदेशको विषयमा आगामी बैठकले टुंगो लगाउनेछ ।’
नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । उनलाई हालै अध्यक्ष रञ्जिताले संसदीय दलको नेताको जिम्मेवारीमा ल्याएकी थिइन् ।
संसदीय दलको नेतामा रहेका घनश्याम चौधरीलाई बर्खास्त गर्दै रञ्जिताले कैलाशलाई नेता बनाउने निर्णय गरेको पत्र सभामुख भीमबहादुर भण्डारीलाई दिइसकेकी छन् । तर सभामुखले यसबारेमा निर्णय लिएका छैनन् ।
कैलाश रञ्जितानिकट सांसद हुन । उनी कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार हुँदा राज्यमन्त्री थिए । सत्ता गठबन्धन फेरबदल भएपछि उनलाई बर्खास्त गर्दै नाउपाका अन्य सांसदलाई मन्त्रालयमा तानिएको थियो ।
कैलाशको ठाउँमा राज्यमन्त्रीका रुपमा सांसद इन्द्रिरा गिरीलाई ल्याइएको थियो । गठबन्धनका विषयमा रेशम र रञ्जिताबीच उत्पन्न विवादबीच गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन् ।
नाउपा संसदीय दलमा कैलाशभन्दा सिनियर नेता पनि छन् । रेशम कांग्रेससँग सहकार्य गर्ने पक्षमा थिए भने रञ्जिता नयाँ सत्ता गठबन्धनमा सामेल हुने पक्षमा थिइन् ।
गठबन्धनका विषयमा एक महिना लामो चलेको विवादबीच बुधबार नाउपा सांसद एकै ठाउँमा उभिए । नाउपाकै विवादले मुख्यमन्त्री नपाउने अवस्था आएपछि एकजुट भएको सन्देश दिने गरी रेशमकै उपस्थितिमा छलफलमा जुटेका थिए ।
सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन् ।