कमीशन लिएर खानेपानी योजना वितरण गरेको आरोप

जनकपुरधाम:खानेपानीको योजना बिचौलियाहरुलाई वितरण गरेको भन्दै विरोध प्रदर्शन गर्ने पक्राउ परेका छन् । बुधवार महोत्तरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अगाडि बिचौलियाहरुलाई योजना वितरण गरेको भन्दै विरोध प्रदर्शन गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

कमीशन लिएर उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख सुरेन्द्र शर्माले योजना वितरण गरेको आरोप लगाउंदै उनीहरुविरुद्ध खानेपानी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दा रामगोपालपुर नगरपालिका ९ का राजेश यादव र सम्सी गाउँपालिका ४ का संजीव यादवलाई पक्राउ परेका हुन् ।

राजेश र संजीवलाई खानेपानी कार्यालयबाट पक्राउ गरिएको भन्ने कुराको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि पुष्टि गरेको छ । महोत्तरीका एसपी नकुल पोखरेलले भने केही युवाहरु खानेपानी कार्यालयमा टायर बालेर प्रदर्शन गर्दै कार्यालयमा तालाबन्दी गर्न खोज्दा सम्भावित क्षतिलाई रोक्न तिनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका युवकहरु मन्त्री कलावर आबद्ध रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालकै कार्यकर्ता रहेको बुझिएको छ । उनीहरुले जुन ठाउँको योजना रहेको त्यही ठाउँको व्यक्तिको सहभागितामा उपभोक्ता समिति गठन हुनुपर्नेमा बाहिर अन्य पालिका र जिल्लाका व्यक्तिहरुलाई कमीशन लिएर उपभोक्ता समिति गठन गर्नसहितका योजनाको चिट्ठी दिई रहेको यसअघि पनि पटक पटक आवाज उठाउंदा नमानेपछि अन्ततः बुधवार प्रदर्शनमा उत्रेको बताइएको छ ।

पक्राउ परेका युवकहरु मन्त्री कलावरको राजीनामा र कार्यालय प्रमुख सुरेन्द्र शर्मालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी एक युवाले कार्यालयको रेकर्ड हेर्दा तेश्रो चौमासिक आइपुग्दासम्म निकै कम संख्यामा वितरण भएको देखिन्छ । तर मन्त्रालय गएर खोज्दा धेरै योजनाको चिट्ठी गइसकेको बताए । ती सबै चिट्ठी कमीशन लिएर बिचौलियाहरुलाई वितरण गरिएको उनको आरोप रहेको छ ।

स्थानीय युवाहरुले पक्राउ परेका राजेश र संजीवलाई बिनाशर्त रिहा गर्नुपर्ने, योजनाको चिट्ठी मन्त्रालयबाट नभई कार्यालयबाट सम्बन्धित स्थानीय तहमा उपभोक्ता समितिका लागि पठाउनुपर्ने, योजना पारदर्शी हुनुपर्ने र नागरिक वडापत्रको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत अघि सारेका थिए । उनीहरुले माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको