जनकपुरधाम:नयाँ शैक्षिक सत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिक सत्रमा पनि समयमा नै किताब पुर्याएको थियो ।
प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिक सत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो ।
“हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्”, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भने, “राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।”
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिक सत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका थिए भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन् ।
नयाँ शैक्षिक सत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए ।