
जनकपुरधाम:सिरहाको एक करार कर्मचारीले ७ बर्षमै १२ ठाउँमा जग्गासहित झण्डै २० करोडको सम्पति जोडेको पाइएको छ ।
स्थानीय तह गठन भएको वि.सं. २०७४ सालको स्थानीय चुनावपछि करार सेवाको करार इन्जिनियरमा प्रवेश गरेका सुखीपुर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका इन्जिनियर डोमी यादवले काठमाडौँ लगायत १२ स्थानमा घर जग्गा खरिद गरेको प्रमाण सहित खुलासा भएको छ ।
करार इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेको ७ वर्षमै काठमाडौँ सहित १२ स्थानमा जग्गा किन्न सफल भएको इन्जिनियर माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण आयोगमा अकूत सम्पतिको मुद्दा दायर भएको छ ।
सिरहा जिल्ला सुखीपुर नगरपालिकाका करार इन्जिनियरको रुपमा कार्यरत यादवले ७ वर्षमा काठमाडौँ, गोलबजारमा घडेरीसहित घर र बिभिन्न फरक फरक स्थानमा करोडौँको जग्गा लगायत केहि ट्रिपर जोडेको सम्बन्धमा पक्राउ गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पति शुद्धिकरण आयोगमा मुद्दा दायर गरिएको बुझिएको छ ।
इन्जिनियर यादवले काठमाडौँ उपत्यका भित्र ललितपुरमा २ किता, किता नम्बर ४०४५ र २०७२ को जग्गा उपत्यका भित्र रहेको र उक्त जग्गाको हालको मूल्य झन्डै ६ करोडको रहेको अनुमान समेत गरीएको छ । क्रमश किता नम्बर ११९२ र ११९१ , गोलबजारमा नगरपालिका भित्र रहेको अन्दाजी मूल्य झन्डै २ करोडको रहेको र गोलबजारको मुख्य स्थानमा १७ धुर जग्गामा अन्दाजी ५ करोडको घर खरीद गरेको रहस्य खुलेको हो ।
साविक सिरहाको सिग्राही मटिअर्वामा रहेको उनको नाममा किता नं १०१९ र १०१८ जग्गा रहेको छ जसको अन्दाजी १ करोड रहेको छ । कित्ता नम्बर यकिन नभएको लाहानमा २ किता रहेको जग्गा अनुमानित रकम २ करोडको रहेको छ । जग्गाको कित्ता नम्बर यकिन नभएको गोलबजार चौकमा रहेको १७ धुरमा घर रहेको जग्गाको अन्दाजी रकम २ करोड रहेको छ । साथै, बिभिन्न व्यक्तिसंग ५ करोड भन्दा बढीको कपाली तमसुक र बैँक चेक राखेको समेत निवेदनमा उल्लेख गरिएको छ ।
इन्जिनियर यादवको श्रीमती मनिषा यादव र सासु रेखा यादवको नाममा रहेको २ ओटा ट्रिपर रहेको तथा सो ट्रिपर नगरपालिकाको काम काजमा प्रयोग गरि मोटो रकम निकासा गर्ने गरेको पाइएको छ । नगरपालिकाको सम्पूर्ण निर्माण र बजेट चलाउने काम निरन्तर रुपमा यादव आफुले नै हेर्दै आएको र खुलेआम कमिसनको बार्गेनिङ गर्दै आएको र सबै ठेक्का पट्टा आफन्तको निर्माण व्यवसायलाई पालिकाको कागज पत्र मिलोमतो गरि रकम निकासा गरेर असुली गर्दै आएको उनले अवैध रुपमा जोडेको सम्पतिले देखिन्छ ।
ठूला–ठूला नेताहरूको मिलोमतो र संरक्षणमा इन्जिनियर यादव अकूत सम्पति कमाउन सफल भएको श्रोतको दाबी छ । उल्लेखित किता नम्बरको घर र जग्गा अधिकांश सम्पति आफ्नो श्रीमती मनिषा यादव, सासु रेखा कुमारी यादव लगायत आफन्तको नाममा लुकाएर पछि बकस पत्र गरि सम्बन्धित निकायलाई समेत झुकाएर आफूलाई दानमा आएको भन्दै आफ्नो र घर परिवारको नाममा राखेको प्रमाण सहित फेला परेको हो ।