जनकपुरधाम:एउटा यस्तो फूल जो वर्षको एक दिन मात्रै फूल्ने गर्छ । त्यो पनि वैशाख १ गते मात्रै । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेशको फूलबारीमा यस्तै फुल देख्न पाइन्छ ।

वैशाख १ गतेको दिन देश विदेशमा रहेका नेपालीहरु एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने गर्छन् । यी सबका बिच प्रकृतिले पनि एक प्रकारको रहष्यमयी फुलको माध्यमले हामी सबै नेपालीलाई शुभकामना दिने गर्छ ।

सलहेस फुलबारीको नाामले प्रसिद्ध रहेको सो ऐतिहासिक फुलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख आफै मौलाएर जान्छ ।

सो रुख फुलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एका बिहानै फुल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्य नै बनेको छ ।

माला आकारको सेतो फुलको थुङ्गा जस्तो देखिन्छ र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख यति प्राचीन भएपनि कसरी बाँचेको छ त्यो पनि खोजको विषय रहेको छ । वनस्पतिविद्हरूका अनुसार त्यो रुख छैठौँ वा सातौँ शताब्दी तिरको हो ।

सलहेस र मालिनीको प्रेमको प्रतिक

राजा सलहेस मिथिलाको दुसाध जातीको लोकदेवता हुन् । राजा सलहेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फुलसंग सम्बन्ध रहेको किम्बदन्ती रहेको पाइन्छ ।

छैठौँ शताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट जयवर्द्धन (सलहेस) को जन्म भएको थियो । सानैदेखि प्रखर वुद्धिका धनी र शौर्यशालीका थिए सलहेस ।

सलहेसको समयमा कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किराँत तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लानका लागि बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुवा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई सहयोग गर्नका लागि पुगे ।

भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गढपति बने । सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य संगठनलाई सुसंठित पारेका थिए ।

पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने युवतीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम बसेको किम्वदन्ती रहि आएको छ । मालिनी सलहेसकै प्रतिक्षामा प्रत्येक दिन फुल टिप्नका लागि सो फूलबारी आउने गर्थिन् । मालिनी नै सलहेशको यादमा नयाँ वर्षका दिन प्रत्येक वर्ष सो फुलबारी आउँछिन् जनविश्वास रहेको छ । त्यसैले फूलबारीलाई राजा सलहेस र मालिनी बिचको प्रेमको प्रतिकको रुपमा लिइने गरिन्छ ।

राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले अहिले पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा रहि आएको छ ।

लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारमको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्छ र दिन ढल्दै जाँदा उक्त माला विस्तारै मौलाउँदै जान्छ । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।

किम्वदन्तीका अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फुलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । मेलाको दिन दर्जनौं युवायुवती ती फुललाई साक्षी मानी प्रेम विवाह समेत गर्ने गर्छन् ।

यस वर्ष फक्रिएन फुल

सिरहाको लहान नगरपालिकामा पर्ने ऐतिहासिक सलहेश फूलवारीमा विगतका वर्षजस्तै आज पनि ठूलो मेला लागेको थियो । मेला भर्न भारत र नेपालका विभिन्न जिल्लाका मानिस उर्लिएका छन् । ९ विघामा फैलिएको सलहेश फुलवारी खचाखच भरिएको थियो । भारतबाट प्रायः श्रद्धालु एकदिन अगावै फुलवारी आइपुग्छन् । उनीहरु फुलवारीमै खाना पकाउँछन्, पूजापाठ गर्छन् र खान्छन् ।

यो मेलाको मूख्य आकर्षण हुन्छ– हरेक वर्ष वैशाख १ गते मात्र फूल्ने अनौठो फूल । सलहेश गहबर नजिकै रहेको हारमको बोटमा यो अनौठो फूल फूल्छ । तर यसवर्ष फूल राम्रोसँग फक्रिएको छैन । यद्दपी बोटमूनी पूजापाठ गर्ने र फोटो खिच्नेहरुको बिहानैदेखि ठूलो भीड छ ।

दुसाद र दनुवारले ‘सलहेश’लाई कुल देवता मान्छन् । तर पूजा भने सबै जातीले गर्ने गर्छन् ।सलहेस गहबरमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ ।

मनोकमना पुरा गरेको विश्वासका साथ सलहेश गहबरमा आजको दिन पूजापाठ गरिन्छ । मालिले बनाएर बेच्ने कागजको झाँप प्रायः श्रद्धालुले सलहेशको गहबरमा चढाइरहेका छन् । सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरुले सन्तान समेत पाउने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको