जनकपुरधाम:मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्छन् । यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ ।होली पर्वमा रङ-अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ ।
जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ । पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे । अचेल यो परम्परा लोप हुँदै गइरहेको छ ।मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइदै आएको छ ।
जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा ’सेभ हिस्टोरिकल जनकपुरधाम’को अगुवाईमा केही वर्षयतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ ।शीतलताको प्रतीकका रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको मधेश प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादव बताउँछन् । जुडशीतल पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा पनि छ । यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने गरेको उनको भनाई छ ।
यसका अतिरिक्त जुडशीतल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण छ ।शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ । गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोदकुमार झा बताउँछन् ।यसअघि मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको सतुवाईन पर्व मनाइएको छ ।
पर्वको अवसरमा घर–घरमा सतु खाने तथा दान गर्ने चलन रहेको छ । घरका देवीदेवतालाई प्रसादका रुपमा सतु अर्पण गर्ने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सतु खाने गर्छन् । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सतु खाने तथा दान गर्ने चलन छ ।