जनकपुरधाम:अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ मनाइँदैछ ।
छठ पर्व विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुशी नदी तथा नहरको किनारमा अघ्र्य दिनका लागि भक्तजनहरुले तयारी गरेका छन् ।
सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापिठका प्राध्यापक धु्रव रायले बताए ।
सूर्यको उपासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
जलेश्वरनाथ महादेव मन्दिरका पूजारी कालिकान्त झाका अनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ ।
यस अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतीले ‘नहाय खाय’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन खरना मनाइएको थियो ।
खरनाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति कुल देवतालाई प्रसाद अर्पण गर्छन् । त्यस्तै तेस्रो दिन आज साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन आज व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।
अन्तिम दिन एकाबिहानै पुन: छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रात: कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
महाभारतका अनुसार द्रोपतीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।
लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेको बताइन्छ । फलस्वरुप अनुसुइयाले अटल सौभाग्य तथा परिप्रेम प्राप्त गरेको र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूसँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।
पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ ।