जनकपुरधाम:प्रहरीले चैत महिनाभरिमा जिल्लाको विभिन्न स्थानबाट राजश्व चोरी पैठारी गरी ल्याइएका ५ करोड ८७ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
कार्यालयका सूचना अधिकृत एवम् प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार राजस्व अभिबृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी परिचालन भई चैत १ देखि ३० सम्मको अवधिमा ५ करोड ८७ लाख ३६ हजार सात सय ९९ रुपैयाँ बराबरका तस्करीका मालसामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेका लत्ताकपडा, सवारी साधनका पार्टपुर्जा, विद्युतीय सामग्रीहरु, किराना तथा खाद्यान्न बस्तुहरु समेत गरी गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारा र वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
बरामद भएका बस्तुहरुमा १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपैयाँ बराबरको लत्ताकपडा, १ करोड १० लाख ८७ हजार ७ सय १० रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा, २ करोड १० लाख ७८ हजार ६ सय ८१ रुपैयाँ बराबरको विद्युतीय सामग्रीहरु तथा १ करोड ४२ लाख २३ हजार ९ सय १७ रुपैयाँ बराबरको किराना तथा खाद्यान्न मालबस्तुहरु बरामद भएको छ ।
तस्कर समूहले खुल्ला सिमानाको फाइदा उठाउदै दैनिक जसो भारतबाट मालबस्तु तस्करी गरी ल्याउने गरेका छन् । प्रहरीले नियमित जसो यस्ता भन्सार छलीका बस्तु बरामद गरी रहेपनि तस्करी निस्तेज भने हुदैन ।