
जनकपुरधाम:मिथिलासहित तराई मधेशका जिल्लामा श्रद्धा–भक्तिपूर्वक चैते छठको मुख्य दिन आइतबार सन्ध्याकालीन अर्घ दिइएको छ । जनकपुरधामका विभिन्न छठ घाटहरूमा श्रद्धालुहरुले अर्घ अर्पण गरेका छन् ।
चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन नहाय खाय गरेर शुरु भएको चैते छठ अन्तर्गत आइतबार षष्ठी तिथिको अवसर पारेर अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो । आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्वको समापन गरिनेछ ।
सुख, शान्ति, समृद्धि, परिवार जनको कल्याण, सन्तानको दीर्घायु, नयाँ सन्तानको प्राप्ति, पतिको दीर्घायुको साथै चर्म रोग नलाग्ने लागेको भए पनि निको हुने धार्मिक मान्यता सहित छठ पर्व मनाउने चलन रहेको छ ।
गृष्म कालको छठ भएकाले शरद ऋतुको कार्तिक महिनामा मनाइने छठ भन्दा चैते छठ गर्नेको सङ्ख्या कमी भए पनि वर्षैपिच्छे व्रत गर्नेहरुको सङ्ख्या बढिरहेको छ । जनकपुरधामको केही पोखरीमा मनाइने चैते छठ विगत केही वर्ष यता धेरै पोखरीहरूमा मनाउन थालिएको छ ।
जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, अग्नि कुण्ड, बाल्मिकीसर सहितका पोखरीहरूमा व्रतीहरू आज दिउँसो देखि नै प्रसाद सामाग्रीहरू सहित उपस्थित भएका छन् ।
चैते छठमा प्रसादको रुपमा छठी मैयाँलाई ठेकुवा, भूषसा, खाजा, केला, अदुवा, बेसार, नरिवल, उखु, केराउ, स्याउ, सुन्तला सहितका सामाग्रीहरू चढाउने चलन रहेको छ ।
छठी मैयाँलाई प्रसाद अर्पण गर्नका लागि तयार गर्दै निक्कै चोखो भएर गर्नुपर्दछ । शुद्धतासहित चोखो तरिकाले तयार पारेको प्रसादहरूलाई पथीया, ढाकी, सर्वा, सुपली, डगरी, टपरीमा सजाएर छैटीमा राखी घाटमा लाने चलन रहेको छ ।
चैते छठ सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि पर्वको समापन गरिन्छ । सोही दिन व्रतीले ३६ घण्टाको कठोर व्रतपछि पराना अर्थात् नुन सहितको खाना खाने चलन रहेको छ ।