काठमाडौँ:मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र बाँचेका दुई जनाको उद्धार गरिएको बताउनुभयो । “तीमध्ये दुई जना बाँचेका छन् भने अन्य १५ जनाको दु:खद मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “बासिन्दाहरूले बताएअनुसार अहिले पनि दुई जना बेपत्ता भएका छन्, सम्भवत: उनीहरू पहिरोको भग्नावशेषमुनि रहेका हुनसक्छन् ।”

ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेषगरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताउनुभयो । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ । इन्डोनेसियामा वर्षाको मौसममा पहिरोको जोखिम देखिन्छ र केही स्थानमा वन फडानीका कारण समस्या थपिएको छ । लामो समयसम्म मुसलधारे वर्षाका कारण मुलुकका केही क्षेत्रमा बाढी आएको छ ।

गत महिना सुमात्रा टापुमा अचानक आएको बाढी र पहिरोबाट कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने धेरै मानिस अहिले पनि बेपत्ता भएका छन् । डिसेम्बरमा सुमात्रामा टोबा तलाउ नजिकै पहिरो र बाढीबाट दर्जनौँ घर बगेका थिए र एउटा होटल क्षतिग्रस्त भएको थियो । उक्त प्रकोपमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको