षडयन्त्रबिरुद्ध एकजुट हुन भ्वाइस अफ जनकपुरको आह्वान

जनकपुरधाम:जनकपुरधाम स्थित विभिन्न राजनितिक दलका नेताहरुले नेपाल सरकारले ल्याएको संघिय निजामती ऐनको विरोध गर्दै संघियता समाप्त गर्ने योजना संग तुलना गरेका छन् । कांग्रेस, तमलोपा, माओवादी र एकिकृत समाजवादीका नेताहरुले एउटै फोरम बनाएर यस्ता षडयन्त्रबिरुद्ध एकजुट हुन आह्वान समेत गरिएको छ ।

नेपालको संघिय निजामती ऐन संघियताको कुनै पनि मुल मर्म संग मेल खाने नभएको र संघियतालाई समाप्त गर्ने मुख्य योजना मध्येको एक भएको भन्दै मधेशका विभिन्न राजनितिक दलका नेताहरु एकै ब्यानर मुनि आएर विरोध जनाउन थालेका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा पुर्व राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, उपाध्यक्ष तथा पुर्व संविधानसभा सदस्य डा. विजय कुमार सिंह, नेपाली कांग्रेसका प्रदेश सांसद रामसरोज यादव तथा नेकपा एकिकृत समाजवादीका नेता एवं संविधानसभा सदस्य शितल झा र वरिष्ठ साहित्यकार रोशन जनकपुरीले स्थायी सरकारको रुपमा रहेको ब्युरोक्रेट्सले देश र व्यवस्था असफल पारिरहेको समयमा पुनः कर्मचारीलाई केन्द्रिय अधिनमा राखेर संघियतालाई नै धरापमा पार्ने षडयन्त्र गर्न खोजिएको आरोप उनीहरुले लगाए ।

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र रहेको उनीहरुको जिकिर छ । हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड र अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भावको ठाडो उल्लंघन गरेको उनीहरुको भनाई छ ।

प्रदेशहरुमा मुख्य सचिव र पालिकाका प्रमुख प्रशासकिय अधिकृत अझै १० वर्ष सम्म केन्द्रले नै पठाउने र आरक्षणमा पदपुर्ती हुन नसकेको सिटमा पुनः वर्चश्ववादीहरुलाई नियुक्ती हुने गरि गरिएका अनेकन प्रावधानहरुले संघियता समाप्त गर्ने उनीहरुको तर्क छ ।

यि सबै नेताले भ्वाइस अफ जनकपुर नामक ब्यानर स्थापना गरि मधेश र जनकपुरधाम प्रतिको विभेद र भविष्य प्रति हुने हस्तक्षेपको विरोध साँझा रुपमा गर्ने भन्दै आफुहरु एक भएर अगाडि बढने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको