जनकपुरधाम:जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता एवम् पूर्व सांसद प्रमोद साहमाथी अज्ञात युवाहरुको समूहले सांघातिक आक्रमण गरेका छन् । आइतबार मध्यराति सर्लाहीको हरिपुर नगरपालिका– ६ मा मादक पदार्थ सेवन गरेको युवाहरूको एक समूहले साहमाथी आक्रमण गरेका हुन् ।

कुटपिटबाट साह गम्भीर रूपले घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) एसपी रवीन्द्र बहादुर सिंहले जानकारी दिए । उनको टाउकोमा लाठी प्रहार भएको गहिरो चोट लागेको एसपी सिंहको भनाई छ ।

‘घाइते भएपछि उहाँ आइतबार दिउँसो उपचारको लागि जनकपुर जानु भएको थियो,’ जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले भने, ‘उहाँले आफू आजै उपचारको लागि काठमाडौँ जान लागेको जानकारी गराउनु भएको छ । टाउकोमा चोट छ । अवस्था खतरामुक्त नै छ ।’

डिएसपी श्रेष्ठका अनुसार सुरुमा शनिवार राति १२ बजे लालबन्दीमा रहेको जग्गाको मकै बालीमा पानी पटाएर घर फर्किएका साहका कामदार राजेन्द्र महतोमाथि हरिपुर – ६ मा कुटपिट भएको थियो । ‘राति १२ बजे मकैमा पानी पटाएर महतो मोटरसाइकलमा घर फर्किएका रहेछन्,’ श्रेष्ठले भने, ‘महतोले हरिपुर बजारमा मोटरसाइकल रोकेपछि नजिकै मदिरा पान गरिरहेका युवाहरूले किन यहाँ मोटरसाइकल रोकिस् भन्दै कुटपिट गर्न गरेका थिए । उनले आफूमाथि कुटपिट भएको खबर साहलाई सुनाए । तत्कालै घटनास्थलमा पुगेका माननीयमाथि पनि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

आक्रमणबाट घाइते साहको सुरुमा हरिपुरकै अमृत हेल्थ केयरमा उपचार भएको थियो । त्यसपछि साह आफैँ थप उपचारको लागि भन्दै आइतबार दिउँसो जनकपुर गएका प्रहरीले जनाएको छ । आक्रमणबाट पूर्व सांसद साहसँगै उनका कामदार राजेन्द्र महतो, रवि पासवान र निकेश साह पनि घाइते भएका प्रहरीले जनाएको छ ।

‘कुटपिटमा संलग्न ३ जनालाई हामीले पक्राउ गरेका छौँ । चार जना फरार छन्,’ डिएसपी श्रेष्ठले भने, ‘फरार भएकाहरूको खोजी गरिरहेका छौँ ।’ कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले हरिपुर– ६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई पक्राउ गरेको हो । उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको