अलोकतान्त्रिक तरिकाबाट विश्वासको मत दिलाइएको आरोप
जनकपुरधाम:नेपालकै संसदीय इतिहासमा प्रतिपक्षीविहिन संसदबाट मुख्यमन्त्रीलाई विश्वासको मत मधेश प्रदेशमा दिलाइएको छ । एक दललाई सदन बाहिर निकालेर, अर्को प्रतिपक्षीले सदन बहिष्कार गरेको बेला प्रतिपक्षीविहिन सदनमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सभामुख रामचन्द्र मण्डलले विश्वासको मत दिलाएको हो ।
मधेश प्रदेश सभाको यो घटनाले संसदीय अभ्यासको गलत नजिर बस्ने संसदीय मामिला जानकारहरुको टिप्पणी छ । संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले सदन प्रतिपक्षीविहिन रहेको अवस्थामा बलमिच्याई गरी विश्वासको मत दिलाउनु भनेको अराजनीतिक र अलोकतान्त्रिक गतिविधि हो । यसले भोलीको दिनमा संसदीय अभ्यासको गलत नजीर बस्नेछ । नेपालको संसदीय इतिहासमा सम्भवतः यो पहिलो घटना रहेको हो ।
यस्तै संसदीय मामिलाका जानकार पत्रकार लीलाराज खनालले सदन भित्र अराजक गतिविधि गरेमा कुनै सांसद विशेषलाई नभई प्रतिपक्षी दल रहेको हैसियतमा मर्यादापालक लगाई बाहिर निकाल्न लगाउनु र अर्को दलले बहिष्कार गरेको खण्डमा प्रतिपक्षीविहिन अवस्थामा विश्वासको मत दिलाउनु वा कानून पास गराउनु भनेको संसदीय मर्यादा विपरित अराजनीतिक गतिविधि रहेको बताए ।
उनले भने आज सत्ता पक्षसँग बहुमत र उनको सभामुख रहेको अवस्थामा प्रतिपक्षी दललाई बाहिर निकालेर विश्वासको मत दिलाएको छ । भोलीको दिन अहिलेको प्रतिपक्षी सत्ता पक्ष भए वा अन्य दलले उसले पनि यही प्रक्रियालाई दोहरयाए भने संसदीय अभ्यासको इतिहासमा गलत नजिर बस्दै जानेछ ।
जनमतलाई सदन बाहिर निकालेर तथा कांग्रेस र लोसपाले बहिष्कार गरेको मधेश प्रदेशको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाले बैठकको बहिष्कार गरेपनि विश्वासको मत पाउन सफल भएका हुन् ।
दुई÷दुई पटक स्थगन पश्चात बसेको प्रदेशसभा बैठकमा कांग्रेस, जनमत र लोसपाले बैठक बहिष्कार गरेपछि ६१ प्रदेशसभा सदस्यहरु उपस्थित थिए । उपस्थित ६१ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि उनले सदनमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको छ ।
१ सय ७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका ५४ प्रदेशसभा सदस्यहरुको मत आवश्यक थियो । सत्ता गठबन्धनमा रहेका दलहरु जसपा, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति र संघय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री यादवको पक्षमा उभिएका हुन् ।
प्रदेशसभामा एमालेका सभामुख बाहेक २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ प्रदेशसभा सदस्यहरु रहेका छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १÷१ प्रदेशसभा सदस्य छन् । त्यस्तै कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ सांसद छन् । यो ३ दलले भने बैठक बहिष्कार गरेका थिए ।
सदनमा कुर्सी हानाहान र तोडफोड
मधेस प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले कुर्सी हानाहान सहित माइक र कुर्सी तोडफोड गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले विरोध गरिरहँदा सभामुख रामचन्द्र मण्डलले सभा सञ्चालन गर्न खोजेपछि प्रदेशसभा सदस्यहरु तेडफोडमा उतरिएका थिए । त्यस लगत्तै जनमतका प्रदेशसभा सदस्यहरुलाइ सदन बाहिर निकाल्न सभामुख मण्डलले आदेश दिएका थिए ।
त्यसपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु समेत बैठक बहिष्कार गरेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए । त्यस्तै लोसपाले समेत प्रतिपक्षीबिना प्रदेशसभा चलाउन खोज्नु लोकतन्त्रका लागि उचित संकेत नरहेको सभा बहिष्कार गरेको थियो ।
यता सभामुख मण्डलले प्रदेशसभामा भएको तोडफोडबाट क्षतिको क्षतिपूर्ती सम्बन्धित प्रदेशसभा सदस्यहरुबाटै भराउने बताए । उनले प्रदेशसभामा रहेको सीसीटिभी, टेबल, माइक, कुर्सी तोडफोडबाट ४ लाख बराबरको क्षति भएको भन्दै जनमतका प्रदेश सांसदहरुबाट असुल उपर गर्न निर्देशन दिएका छन् ।
राजविराजमा पूर्व मन्त्री महेश यादवमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै जमनत पार्टीका सांसदहरूले प्रदेशसभाभित्रै प्रदर्शन गरेका थिए । जनमतको मागमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूले पनि समर्थन गरेका थिए ।
तर सदन अवरोध गरेको बेला मुख्यमन्त्री यादवले जबरजस्ती प्रस्ताव पेश गर्न लाग्दा विवाद भएको थियो । त्यसपछि प्रतिपक्षी तीनवटै दलले बैठक बहिस्कार गरेका थिए । यसै विषयलाई लिएर प्रदेशसभामा हानाहान पनि भएको थियो । यस क्रममा मुख्यमन्त्री यादवलाई लक्षित गरी प्रतिपक्षी दल जनमत पार्टीका सांसदले माइक प्रहार गरेका थिए । तर संयोगवश त्यो माइक मुख्यन्त्रीलाई लागेन ।
सांसदहरुले टेबल र कुर्सीसमेत तोडफोड गर्न थालेपछि मुख्यमन्त्री यादव प्रस्ताव पेश गर्नबाट ब्याक भए । त्यसपछि सभामुख मण्डलले दोस्रो पटक १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तोडफोडका क्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहको औंला काटिएको बताइएको छ । एक सांसदले भने, ‘वीरेन्द्रजीको एउटा औंलामा चोट लागेको छ ।’
एमालेसँग चर्काचर्की
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक जनमत पार्टीले अवरुद्ध गर्न खोज्दा सत्तारुढ दल एमालेसँग चर्काचर्की भएको छ ।
जनमत प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक चन्दन सिंहले सप्तरीको राजविराजमा ८ माघमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको छानबिन समिति गठन गर्न माग गर्दा डिफेन्स गर्दै एमाले उपनेता दिपेन्द्र ठाकुरले व्यक्तिगत मुद्दालाई लिएर संसद अवरुद्ध गर्न पाइदैन भनेपछि चर्काचर्की भएको थियो ।
पटक पटक वेवास्ता गरेकाले सहमति अनुसार छानविन समित गठन र मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न दिन्नौ’ सिंहले यति भनेसंगै जनमतका सबै सांसद उठ्न लाग्दा नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर उठेर जनमतका नेतामाथि भएको उक्त आक्रमण व्यक्तिगत घटना भएको र सदन अवरुद्ध गर्न नमिल्ने भन्दै प्रतिवाद गरे ।