जनकपुरधाम:मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबारको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची तय थियो । मंगलबार दिउँसो बैठक बसे लगत्तै जनमतले अवरुद्ध ग¥यो ।
जनमत प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक चन्दन सिंहले सप्तरीको राजविराजमा माघ ८ गते मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको छानबिन समिति गठन गर्न माग गरेका थिए ।
त्यस दिन मधेश प्रदेशका तत्कालिन शिक्षामन्त्री महेश प्रसाद यादवमाथि आक्रमण भएकाले छानबिन समिति गठन गर्नुपर्ने जनमतले माग गर्दै आईरहेको छ ।
‘फागुन ६ गते मुख्यमन्त्री विश्वासको मत लिने दिन सदनमै यो घटनाको लागि उच्चस्तरीय छानबिन समित गठन नै गर्ने सहमति भएको थियो । त्यो गठन नै भएको छैन । पटक पटक वेवास्ता गरेकाले सहमति अनुसार छानविन समित गठन र मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न दिन्नौ’ सिंहले यति भनेसंगै जनमतका सबै सांसद उठे ।
लगत्तै नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर उठेर जनमतका नेतामाथि भएको उक्त आक्रमण व्यक्तिगत घटना भएको र सदन अवरुद्ध गर्न नमिल्ने भन्दै प्रतिवाद गर्ने प्रयास गरेका थिए ।
‘जनमतका नेता महेश प्रसाद यादवमाथि भएको घटना व्यक्तिगत हो । व्यक्तिगत घटना ल्याएर सदन अवरुद्ध गर्न मिल्दैन । एउटा दलको सदन होइन यो, ठाकुरले यति भनेपछि प्रतिपक्षी जनमत र नेपाली कांग्रेसका सांसद उठेर नाराबाजी सुरु गरेका थिए । नाराबाजी र सांसदहरुबीचको चर्काचर्कीले प्रदेशसभा बैठकस्थल तनावग्रस्त बनेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे ।
यो घटनाक्रमलाई नियाल्दा पहिले राजविराज घटनाको छानबिन माग गरेको एमालेले सरकारमा गए लगत्तै आफ्नो बोली फेरेको छ ।
माघ ८ गते भएको राजविराज घटनाको दुई दिनपछि माघ १०मा एमाले मधेश प्रदेश समितिका अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीकै अगाडि शिक्षामन्त्री यादव लगायतमाथि भएको कुटपिट भएको भन्दै घटनाको भत्र्सना र सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरिएको थियो ।
‘हाम्रो पार्टी मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्य, तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइतेहरूको उपचारका लागि सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ’, प्रेस विज्ञप्तिमा उल्लेख थियो ।