प्रदेश प्रमुखले दिए थप २ दिन

जनकपुरधाम:सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।

प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जान्छौं : लक्ष्मणकिशोर चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध अदालत जाने बताएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख मियाँले मंगलबार संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दुई दिनको समय दिएर पुनः आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरे लगत्तै कांग्रेस र नाउपाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्णय सच्याउनुपर्ने माग गरका छन् ।

कामचलाउ सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले चालेका कदम सच्याउनुपर्ने अन्यथा कडा रूपमा अघि बढ्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी, रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए । कैलाशले एमाले र माओवादी केन्द्रको समर्थनमा दाबी पेश गरेका थिए ।

तर, मंगलबार एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई गरेको समर्थन फिर्ता लिएको पत्र प्रमुखलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको