जनकपुरधाम:नेपाल राष्ट्र बैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ ।

राष्ट्र बैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।

राष्ट्र बैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा नवराज लामिछानेलाई पक्राउ गरेको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय लामिछानेलाई काठमाडौं ल्याएर ब्यूरोले अनुसन्धान गरेको थियो । कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।

जसक्रममा उनले १५ हजार पटकसम्म राष्ट्र बैंकको वेबसाइट र वेब एप्लिकेशनहरूमा आक्रमण भएको खुलेको साइबर ब्यूरो स्रोतले भन्यो ।

‘वेबसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको विषयलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने विवरणसहितको सिडी १ थान यसै पत्रसाथ संलग्न राखी पठाइएको छ’ उल्लेख राष्ट्र बैंकको सूचना तथा सञ्चार महाशाखा केन्द्रीय कार्यालय बालुवाटारबाट पत्र संख्याः ग.का. विविध –०२–२०८०÷८१ मार्फत १० फागुनमा साइबर ब्यूरोलाई पत्राचार गरिएको थियो ।

राष्ट्र बैंकको उक्त पत्रपश्चात ब्यूरोले अनुसन्धान गर्दा २७.३४.४८.२११ र २७.३४.४८.१६३ आईपी प्रयोग गरेर ह्याक भएको खुलेको थियो । उक्त आईपीहरूबारे इन्टरनेट सेवा प्रदायकसँग थप विवरण माग्दै प्रहरीले ‘युजर नेम’ देखि मोबाइल नम्बरसम्म पत्ता लगाएको थियो । सो क्रममा पोखराबाट ह्याक गरेको देखिएपछि कास्की प्रहरीको सहयोगमा लामिछानेलाई पक्राउ गरेर काठमाडौं ल्याई अनुसन्धान गरिएको थियो ।

लामिछानेलाई पक्राउ गरेपछि उनको कोठाबाट प्रहरीले ५ थान मोबाइल, १ थान कम्प्युटर, हार्ड डिस्क ४ थान, मेमोरी कार्ड र मेमोरी १÷१ थान र राउटर १ थान बरामद गरेको थियो ।

ह्याकरहरूले ह्याक गरिसकेपछि सूचनाहरू बिक्रीका लागि डार्क वेबमा राख्छन् । लिलामीमा रहेका डेटामा बढी बोलकबोल लगाउनलाई खरिद–बिक्री हुने गर्छ ।

लामिछानेबाट बरामद भएका कम्प्युटर तथा मोबाइलहरू म्याग्नेट एक्सिमो फरेन्सिक टुल्समार्फत प्राविधिक जाँच गर्दा १५ हजार पटकसम्म साइबर आक्रमण गरेको भेटिएको ब्यूरोका एक अनुसन्धान अधिकृतले बताए । ‘विगत ६ महिनादेखि निरन्तर राष्ट्र बैंकको साइट र वेब एप्लिकेशनहरूमा आक्रमण भएको देखियो । १५ हजार पटक प्रयास गरेपछि बल्ल ह्याक गर्न सफल भएको देखिन्छ’ ती अधिकृतले भने ।

जाँचका क्रममा लामिछानेबाट बरामद भएको कम्प्युटरमा राष्ट्र बैंकका विवरणहरू समेत भेटिएको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए । ‘कम्प्युटरमा सोर्स कोड (राष्ट्र बैंक, एनआरबी) र वर्ल्डएनआरबी फोल्डर बनाएर ह्याक गरिएका विवरणहरू राखिएको भेटिएको थियो,’ एसएसपी अर्यालले भने ।

लामिछानेले ह्याक गरेर राष्ट्र बैंकको फाइनान्सियल डाटामा भन्दा पनि प्रशासनिक डाटामा पहुँच पु¥याएका थिए । ह्याक गरेर बैंकको प्रशासन अन्तर्गतका इन्टर्नल डेटामा पुहँच पु¥याएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको