जनकपुरधाम:चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी जनकपुरधाममा धूमधामका साथ मनाइएको छ । बुधबार रामनवमीको अवसरमा गाउँ–गाउँबाट श्रद्धालुहरू जनकपुरधामस्थित राम मन्दिर पूजा अर्चनाका लागि पुगेका थिए ।

रामनवमीको अवसरमा राम र जानकी मन्दिरमा दिनभरि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । बिहान विशेष आरती गरिएको थियो भने मध्याह्नमा हर्ष बढाइँ गर्दै श्रद्धालुहरूले बधैया गाएका थिए । साँझमा पनि विशेष आरती गरिएको थियो ।

राम–सीताको दर्शन गर्न हजारौं श्रद्धालु मन्दिर परिसरमा भेला भएका थिए । केहि श्रद्धालु भने तीन दिन लगाएर नौमी दण्डवत् गर्दै मन्दिर परिसरसम्म आएका थिए । मनौती मानेकाहरू घरदेखि मन्दिर परिसरसम्म माटोलाई ढोग्दै आउने गर्छन् । जसलाई नौमी दण्डवत् भनिन्छ । रामनवमीको अवसरमा ग्रामीण क्षेत्रका मठ मन्दिरहरूमा पनि विशेष पूजाअर्चनाको आयोजन गरिएको थियो ।

त्यस्तै बुधबार नै वासन्ती नवरात्रीको अन्तिम दिन देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम राखिएको थियो । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिदै आएको छ । शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रीलाई शारदीय र चैत शुक्लपक्षको दशैँलाई वासन्ती नवरात्री भनिन्छ । चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको