
जनकपुरधाम:धनुषाको विदेह नगरपालिका २ दुहबी गोबराही चोकमा चार वर्षदेखि बन्द रहेको हाटबजार दुई पक्षीय सहमति पश्चात बुधवारदेखि शुरु भएको छ ।
गाउँलेहरूका बीचमा आपसी विवादले गर्दा गत २०७६ सालदेखि दुहबी गोबराहीको साप्ताहिक हाटबजार बन्द भएको थियो । त्यसयता किसानलाई आफ्ना उत्पादन बेच्नका लागि करिब पाँच किलोमिटरको दुरीमा रहेको तीनकौरिया चोकस्थित बजार जानुपर्ने बाध्यता रहेको थियो ।
गाउँको विद्यालयसँगै जोडिएको हाट सञ्चालनमा आउँदा उब्जनी बेच्न एक गाउँबाट अर्को गाउँसम्म सामग्री ओसारपसार गर्न मुश्किल हुने किसानको सकसमा विराम लागेको छ । तिनीहरूले गाउँकै हाटमा आफ्ना उत्पादन उचित मूल्यमा बेच्न पाएका छन् ।
दुहबीको कृषि हाटबजार आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्ने जनाइएको छ । वर्षौदेखि बन्द रहेको दुहबी हाटबजार सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएको विदेह नगरपालिकाका मेयर बेचन दासले बताए ।
‘त्यति ठूलो हाटबजार विभिन्न कारणले बन्द हुनपुग्यो, जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटकपटक हाटबजार सञ्चालन गर्न पहल गरेको थिएँ तर सफलता भने अहिले प्राप्त भएको छ,’ नगरप्रमुख बेचन दासले भने, ’स्थानीय किसानको उत्पादन खपत अब यहीँ हुनेछ । व्यावसायिक रूपमा तरकारी तथा फलफूल उब्जाउन साना किसानलाई यो हाटबजारले प्रोत्साहन दिनेछ ।’
यस्तै विदेह नगरपालिकाका कार्यपालिका सदस्य शत्रुधन रायले चार गाउँका बीचमा रहेको सो हाटबजारबाट तरकारी उब्जाउने किसानसँगै आम जनतालाई सुविधा भएको बताए । उनले भने, ‘चार वर्षअघि हाटबजार बन्द भएपछि जनतालाई निकै अप्ठ्यारो परेको थियो । त्यसैले नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूका पहलमा कार्यपालिकाको निर्णयबाटै हामीले हाटबजार सञ्चालनमा ल्याएका हौं ।’
स्थानीयका अनुसार विसं २०७६ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो । उक्त हटियामा स्थानीय उत्पादन आलु, पयाज, काउली, परवल, कदिमा, तेजपत्ता, स्याउ, सुन्तलालगायत तरकारी तथा फलफूल खरिदबिक्री गर्न मानिस आउने गर्दथे । छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए ।
सो हाटबजार सञ्चालन गराउन वडाध्यक्ष रामपुकार सहनी, वडाध्यक्ष रामश्रेष्ठ सहनी, कार्यपालिका सदस्य शत्रुधन राय, हरि कुसैयत, ब्रहम्देव दास, सन्तोष यादवलगायत स्थानीय बुद्विजीवीहरूले समेत पहल गर्दै आएका थिए ।