
जनकपुरधाम:बुधबार राति जनकपुरधाम उपमहानगरपालिका– १६ कपिलेश्वरमा पोखरी नजिक स्थानीयले बच्चा चिच्याईरहेको आवाज सुने । आवाज सुने लगत्तै त्यता तर्फ हेर्दा आगो निभ्न लागेको जस्तो थियो । तत्कालै स्थानीयले प्रहरीलाई फोन गरे र दौडेर त्यहाँ पुगे ।
‘महिलाको लुगा जलेर जिउ पोलेर मृत्यु भइसकेको थियो सानो बच्चा जिउमा आगो लागेर चिच्याइरहेकी थिइन् । छेउमै त्यहाँ मोबाइलको टर्च बलिरहेकै थियो । जलेर हल्का बाँकी रहेको प्लास्टिकको बोतलमा मट्टितेलको जस्तो गन्ध आयो’, एक प्रहरी अधिकारीले भने ।
ती प्रहरी अधिकारीका अनुसार बालिकालाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पतालतर्फ पठाइयो, तर बाटैमा मृत्यु भयो ।
बिहीबार दिउँसो प्रहरीले मृतकको सनाखत पनि गरेको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिसवा नगरपालिका–२ की २३ वर्षीया प्रियंका महतो र उनको १० महिनाकी छोरी माही महतो थिए ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले घटनास्थलको प्रकृतिले आमाछोरीको हत्या वा आत्महत्या प्रष्ट नभएको बताए । ‘अहिलेसम्मको स्थिति हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ । अन्य मान्छेको संलग्लनता अहिलेसम्म खुेलेको छैन । हत्या भएको जस्तो प्रमाणहरु फेला परेको छैन । तापनि हामी प्राविधिक तर्फबाट पनि अनुसन्धान गर्दै छौं । त्यसबाट केही खुल्छ कि’, उनले भने ।
ससुरा फेकन महतोका अनुसार वैशाख १ गते पाखुरा दुखेको भन्दै प्रियंका उपचार गराउन भन्दै माइत गएकी थिइन् । बुधबार दिउँसो १२ बजेतिर उपचारको लागि छोरीसँगै प्रियंका जनकपुरधाम आएकी थिइन् । बुबा श्रवण महतोले नदेखेपछि अपरान्ह ५ बजेतिर घरमा खोजी गर्दा दिउँसै जनकपुर उपचार गराउन घरबाट हिँडेको थाहा पाए ।
‘म खाना खाएर सुतेको थिएँ । पाँचबजे उठेपछि तरकारी लिन बजार जाने बेला सोधेँ, बेटी खोई ? अनि परिवारबाट उपचारको लागि जनकपुर गइन् भन्ने थाहा पाएँ साँझसम्म घरमा बाटो कुर्दा आइनन् । राति १० बजेतिर फोन आयो छोरी नातिनी यस्तो अवस्थामा भेटियो भनेर’, उनले भने ।
प्रियंकाका श्रीमान सुमित गाउँमै मजदुरी गर्छन् । श्रीमान–श्रीमतीबीच ठूलो मनमुटाव भएको पनि नदेखिएको दुबै परिवारको भनाइ छ । ससुरा फेकनले बुहारीको हत्या भएको आशंका गरेका छन् ।