जनकपुरधाम:शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ धनुषाको प्रथम जिल्ला अधिवेशन तथा पदसोपान घोषणा सभा सम्पन्न भएको छ ।

सम्पन्न सभाबाट नेपाल शिक्षक संघका सुरेशकुमार यादवको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । जिल्ला निर्वाचन समिति नेपाल शिक्षक महासंघ धनुषाको आयोजनामा भएको घोषणा सभाले विहिवार यादवको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदेन सदस्य एवं प्रमुख अतिथि कुमोद कुमार सिंहले केन्द्रिय महाधिवेशन हुन नदिन महासंघ भित्रैका केही ब्यानरका साथीहरु चलखेल गरिरहेको आरोप लगाउंदै तोकिएको मिति वैशाख १० गते नै गर्नेतर्फ सबैलाई लाग्नुपर्ने बताए ।

राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष समेत रहेका सिंहले अन्य जिल्लाहरुमा अधिवेशन गर्न जरुरी रहेकोले नेतृत्वलाई घचघचाउन ध्यानाकर्षण गराए । उनले शिक्षक महासंघको विधानको पूर्णपालना गर्न निर्देशन दिदै आवद्ध संस्थाहरुको हक हितका लागि प्रतिवद्ध भई अगाडि बढ्न निर्देशन दिए । उनले केन्द्रको अवहेलना जिल्लाले गर्न नहुने भन्दै केन्द्रिय समितिलाई बचाउनको लागि कुनै प्रकारको चुक नगर्न सुझाव दिए ।

नेपाल शिक्षक महासंघ धनुषाको नव गठित कार्यसमिती खुल्ला सह–सचिवमा जय कुमार यादव, संस्थागत सह–सचिवमा श्रीप्रसाद यादव, राजु साह र सुनिल कुमार साह रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरिनारायण अधिकारी, रामपदारथ साह, नवेश्वर ठाकुर, श्याम यादव, दिलिप यादव, देव कुमार यादव र मनोज कुमार यादव रहेको छ । संघीय महाधिवेशन प्रतिनिधिमा मेघनाथ यादव, रामस्निेही यादव, महावीर दास, रामकुमार सिंह र रामस्नेही माझी रहेको छ । त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा रामईश्वर यादव र आशा यादव रहेका छन् ।

नेपाल शिक्षक महासंघको केन्द्रिय सदस्य एवं धनुषा निर्वाचन संयोजक छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ धनुषाको वर्तमान सल्लाहकार एवं शिक्षक नेता मेघनाथ यादवले विभिन्न राजनितिक दलका शिक्षक संगठन भन्दा महासंघ बलियो हुनुपर्ने भन्दै यस्तो विषम परिस्थितीमा महासंघलाई बलियो बनाएर लडनुको विकल्प नरहेको बताए ।

सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महावीर दास, नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादव, नेपाल शिक्षक युनियन राष्ट्रिय समितिका पुर्व महासचिव चुन्नीशरण यादव, शिक्षक नेता जगदिश राय लगायतका व्यक्तिहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको