जनकपुरधाम:बागेश्वर बाबाको रुपमा परिचित कथा वाचक धीरेन्द्र शास्त्री बागेश्वर महाराजले नेपालबिना भारत अधुरो हुन्छ जसरी माता सीताबिना राम अधुरो हुने बताएका छन् ।
आफ्नो पाँच दिने धार्मिक यात्रामा विश्व विख्यात बागेश्वरधामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्री बुधवार हेलिकाप्टरबाट नेपालको सुनसरी जिल्ला अन्तर्गत बराहा क्षेत्र चतरा पुगेर त्यस्तो बताएका हुन् ।
बराह क्षेत्र चतरास्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनन्त श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबासहित सनातन धर्म प्रेमीहरूले माला लगाएर उनको भव्य स्वागत गरेका थिए । उक्त अवसरमा धीरेन्द्र शास्त्रीसँगै राजेन्द्र राउत, विकास चौधरी, अरुण राठी, अरुण सुराना, सुरेश राठी, सुशील राठी, नरेश राठी डब्बू,अमित धाडेवा, बीरू धडेवा सहित उच्च सुरक्षा अधिकारीहरू उनको टोलीमा सहभागी रहेका थिए । कार्यक्रम स्थल संगै रहेको हनुमान मन्दिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए ।
सोही अवसरमा पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीले झन्डै दुई अर्ब रुपैयाँको लागतमा ब्रह्ममन्डीय शैली श्रीयन्त्र आकारको प्रस्तावित राम मन्दिरको शिलान्यास गरेका थिए । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सङ्घीय सांसद, प्रदेश सांसदहरू, विभिन्न दलका नेताहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिलान्यास पश्चात् कार्यक्रम लाई संक्षिप्त सम्बोधन गर्दै बागेश्वर महाराजले नेपालको बिना भारत अधुरो छ जसरी माता जानकीबिना हाम्रो राम अधुरो । उनले भने, ’नेपाल हाम्रो मुटु हो ।’
उनले पशुपति नाथ, महादेवको भूमि जबसम्म हामी पुग्दैनौँ हामी अधुरो नै हुन्छौँ भनेका थिए । धीरेन्द्र शास्त्रीले भने, ’नेपालका हिन्दहरूलाई एकजुट गर्न र नेपालमा शान्ति कायम राख्न बालाजी महाराजसँग प्रार्थना गर्दछु ।’ बागेश्वर महाराज चतरामा आयोजित पाँच दिवसीय हनुमान कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
कथा वाचनको अवसरमा शान्ति सुरक्षा कायम राख्न ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । चतरा धाममा लागिरहेको १ महिने कुम्भ स्नानको अवसरमा विशेष रूपमा कथा वाचनको लागि भारत मध्यप्रदेशस्थित बागेश्वर महाराजलाई निम्तोसहित बोलाइएको छ ।