खुल्ला पेट्रोल विक्री वितरण रोक्न प्रहरी सक्रिय
जनकपुरधाम:बुधवार राति ९ बजे जनकपुरधाम १६ कपिलेश्वरस्थित पोखरी नजिक जलिरहेको अवस्थामा फेला परेकी आमा छोरीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरीले पुष्टि गरेको छ ।
शुक्रवार पत्रकार भेटघाटमा कार्यक्रमा धनुषाका एसपी भुवनेश्वर तिवारीले भने दुई दिनअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा आमाछोरीको जलेर मृत्यु भएका घटनामा बोतलमा ओसारिएको पेट्रोल प्रयोग भएको पाइएको हो । महोत्तरीको मनरासिस्वा नगरपालिका– २ की २३ वर्षीया प्रियंका महतो कानु र उनकी १० महिने छोरी माही महतोले जलेर मृत्यु भएको थियो ।
प्रियंकाको शव जलेका अवस्थामा घटनास्थलमा फेला परेको थियो भने १० महिने दुधेबालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लाँदै गर्दा बाटामा मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट अन्य सामानका अतिरिक्त प्रज्जवलनशील इन्धन ओसारिएको बोतल बरामद गरेको थियो ।
यस्ता घटना रोक्न पेट्रोल पम्पहरूबाट खुल्ला रुपमा विक्री वितरणका लागि बोतल, जर्किनलगायतका भाँडोमा भइरहेको बिक्रीमा प्रहरीले निगरानी बढाएको उनले बताए । एसपी तिवारीले थप्दै भने पेट्रोल पम्प मात्र होइन खुल्ला रुपमा स साना पसलहरुमा विक्री भइरहेको सूचनापनि आइरहेको समेत जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण भएकाले अनुगमन कार्य अघि बढाइएको छ । खुल्ला विक्री वितरणको गरेको पाइएमा कारवाही गरिने एसपी तिवारीले जानकारी दिए ।
गत दुई पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री गर्दा असुरक्षित ओसारपसार र भण्डारण गर्दा आगलागी हुने र मानवीय एवम् भौतिक क्षतिसमेत हुने भएकाले पेट्रोल पम्पबाट सवारीसाधनमा सीधा पेट्रोलियम पदार्थ भर्ने सूचना जारी गरेको थियो । सवारीसाधनमा सीधा पेट्रोलियम पदार्थ नभर्दाको अवस्थालाई सुरक्षा संवेदनशीलताको बेवास्ता ठहर गरेको जिप्रकाले त्यस्तो अवस्थामा कानुनअनुसार कारबाही हुने सूचनामा भनिएको थियो ।
नेपालमा पेट्रोलियम पदार्थको आधिकारिक विक्रेता नेपाल आयल निगमले खुला रूपमा पेट्रोलको बिक्रीवितरण दण्डनीय रहेको बताउँदै आएको छ । तर, जिल्लाका अधिकांश ग्रामीण बजारसँगै सहरीक्षेत्रमा समेत पान तथा किराना पसललगायतमा पेट्रालको खुलेआम किनबेच हुनेगरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाले कपिलेश्वरको घटना दुर्भाग्यपूर्ण भएको र त्यसबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको बताए । प्रमुख जिल्ला अधिकारी कडरियाले सुरक्षा निकायको लिखित पत्र नभई सवारीसाधनबाहेकमा पेट्रोल नभर्न पेट्रोलियम पदार्थ डिलर्स एशोसिएसनका अध्यक्षलगायत पदाधिकारी तथा डिलर्सहरू समेतलाई आफैँले जानकारी गराएको उल्लेख गरे । उनले विभिन्न पसलमा बोतल तथा जर्किन आदिमा बिक्री भइरहेको पेट्रोलको व्यापार सुरक्षाकर्मी परिचालन गरी बन्द गराइने जानकारी दिए ।
हत्या कि आत्महत्या ?
घटनाबारे डिएसपी रञ्जन अवाले भने, ‘महिलाले आफैँ आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । तर निष्कर्षमा पुगिसकेको छैन् । अनुसन्धान जारी छ ।’
उनले भने, ‘घटनास्थलबाट बरामद पेट्रोलियम पदार्थ ओसारिएको बोतल बरामद हुनुलगायत केही थप कारणले आत्महत्याको घटना भएको हाम्रो प्रारम्भिक ठम्याइ छ । डिएसपी आवाले घटनामा प्रयोग भएको र पेट्रोल रहेको आशङ्का गरिएको इन्धन किनबेच भएको ठाउँको खोजी भइरहेको जानकारी दिए । ‘थाहा पाउनेहरूले पनि मुख नखोल्दा यस्ता घटनामा सही कुरा पत्ता लगाउन कठिन हुन्छ,’ उनले भने ।
प्रियंका छोरी लिएर वैशाख १ गते माइत महोत्तरीको पिपरा गाउँपालिका १ ढेकहा गएकी थिइन् । उनी बुधवार मध्यान्ह छोरीसहित सम्पर्कविहिन भएकी थिइन् । माइत गाउँकै छिमेकी रामसागर महतोसँग प्रियंकाको अवैध सम्बन्ध रहेको कुरा खुलेको छ । प्रियंकाका आमाबुवाले पनि रामसागरले नै छोरीलाई बेपत्ता पारेको र जनकपुर लगेर मारेको आरोप लगाएका छन् ।
प्रियंकाले माइतकै केटासँग अबैध सम्बन्ध राखेको संकेत उनका श्रीमान अमितले पनि गरेका छन् । उनी भन्छन्, ‘आफूसँग रहेको बेला पनि उनी अन्य व्यक्तिसँग फोनमा कुरा गर्थिन् । मैले सोधेपछि कहिले आमा त कहिले बुवासँग कुरा गरिरहेको भनेर झुठ बोल्थिन् । मलाई शंका लागिरहेको थियो ।’
डिएसपी अवालेले मृतक प्रियंकाले माइतका एक व्यक्तिबीच अबैध सम्बन्धको कुरा आएको र यस विषयमा अनुसन्धान गरिरहेका बताए । उनले भने, ‘सम्बन्ध रहदैमा हत्या गर्छन् भन्न पनि सकिदैन । यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं ।’ प्रियंकाले अवैध सम्बन्ध राखेको भनिएका रामसागर घटना भएको दिनदेखि फरार छन् । त्यसैले पनि उनी अनुसन्धानको घेरामा परेका छन् ।