जनकपुरधाम:गत असोज महिनामा इजरायलमा भएको हमास समूहको आक्रमणमा परि मृत्यु भएको धनुषाको लक्ष्मीनिया गाउँपालिकाको सपही निवासी आनन्द साहको परिवारलाई मधेस सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
मधेस सरकारबाट घोषणा भए अनुसार मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मृतक आनन्दका बुवा सोमन साहलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेको हो । घटना भए लगतै प्रदेश सरकारले साह पिडीत परिवारलाई पांच लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार सो सहयोग राशि प्रदान गरिएको जनाइएको छ ।
गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नंं ४ बस्ने आनन्द साह सहित अध्ययन भ्रमणमा रहेको १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पश्चिमाञ्चल विश्व विद्यालयको वि एस सी एग्रीकल्चरको अन्तिम वर्षको कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । प्रदेश सरकारले निक्कै पहिला घोषणा गरेको सहयोग राशि आज प्रदान गरेको छ ।