जनकपुरधाम:जनकपुरधाम ४ स्थित न्यूभिजन रेसिडेन्सल सेकेण्ड्री स्कूलले विद्यार्थीहरुको प्रोत्साहन तथा मनोबल बढाउन पछिल्लो परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
सो स्कूलमा अध्ययनरत कक्षा नर्सरी देखि ९ सम्मका परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको जनाइएको छ । पछिल्लो पटक सम्पन्न वार्षिक परीक्षामा ए, ए प्लस र ए डब्ल प्लस लेभलको ग्रेड ल्याएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र ट्रफीबाट पुरस्कृत गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विश्वलाल सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार ए ग्रेड ल्याएकालाई मेडल, ए प्लसलाई शिल्ड र ए डब्ल प्लसका विद्यार्थीलाई ट्रफी उनीहरुको मनोबल बढाउन तथा प्रोत्साहनका लागि पुरस्कार स्वरुण वितरण गरिएको हो । पूर्व प्रमुख जिल्ला अधिकारी रामरत्न मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल, इन्चार्ज र शिक्षकहरुले सो पुरस्कार वितरण गरेका थिए ।
न्यू भिजनले केही वर्षदेखि उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । नेपाल सरकारले ग्रेड प्रणाली लागू गरेकोभन्दा पहिलादेखि नै न्यूभिजन ग्रेड प्रणाली गरिसकेका थिए । सोही आधारमा पुरस्कार पनि वितरण गर्दै आएको छ । प्रिन्सिपल सिंहले भने रिजल्टको न्यून प्रतिशत मार्कले गर्दा विद्यार्थी अगाडि पछाडि हुँदा तिनीहरुको मनोबलमा ह्रास आउने गरेको कारण आफ्नो स्कूलले नेपाल सरकारले ग्रेड प्रणाली लागू गरेभन्दा पहिला नै फस्ट, सेकेण्डको प्रणाली हटाई ग्रेड लागू गरेको जानकारी दिए ।
सो कार्यक्रममा प्रदेश सरकारका वन अधिकृत सुरेश शर्मा र पत्रकार सुभाष कर्णले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै न्यूभिजन जस्तै अन्य विद्यालयहरुले पनि विद्यार्थीहरुको मनोबल बढाउन यस्ता पुरस्कार तथा सम्मानको कार्यक्रम वार्षिक परीक्षा तथा विभिन्न प्रतियोगिता मार्फत निरन्तर रुपमा दिनुपर्ने आवश्यकता रहेको बताए । सो कार्यक्रममा विद्यार्थीसँगै आभिभावक तथा शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।