२३ करोडबढी सम्पति र विदेशी बैंकमा रकम रहेको दाबी
जनकपुरधाम:राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी रुपमा अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल विरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो । पौडेलको वैध आय १ करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ देखिन्छ । तर खर्च भने २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ भएको पाइएको छ ।
वैध आयतर्फ अंशबाट प्राप्त रकम २५ लाख, राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहँदा पारिश्रमिक र बचत सुविधा बापत ३९ लाख १३ हजार ३६५ रुपैयाँ रहेको देखिन्छ । त्यसै गरी नेपाल दूर सञ्चार कम्पनी (एनटीसी)मा पारिश्रमिक तथा बचत सुविधा बापत १७ लाख १६ हजार ९३८ रुपैयाँ, एनटीसीमा भत्ता बापत २३ लाख ९० हजार ८८९ रुपैयाँ र शेयर बिक्री बापत ७ लाख ७३ हजार ३१२ रुपैयाँ आय भएको देखिन्छ ।
सवारी साधन विक्री गरी ५० हजार रुपैयाँ र बैंक ब्याजबाट आय ५ लाख ८० हजार ३४० रुपैयाँ रहेको अभियोग पत्रमा उल्लेख छ । तर, व्ययतर्फ विदेशी बैंकमा गैरकानुनी मौज्दात मात्र १३ करोड ५३ लाख ८६ हजार २२६ रुपैयाँ रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा पौडेलले गैरकानुनी रूपमा उक्त नगद मौज्दात राखेका छन् ।
सोही बैंकको खाताबाट उनले आफ्ना सहोदर दाजु अनिल पौडेललाई ८ करोड ७९ लाख ११ हजार ५८८ रुपैयाँ ट्रान्सफर गर्नुका साथै घरजग्गामा लगानी गर्नका लागि थप ५० लाख २० हजार रुपैयाँ बैंक खाताबाट ट्रान्सफर गरेको अभियोग पत्रमा उल्लेख छ ।
विदेशबाट गहना खरिद गर्नका लागि ३९ लाख ९० हजार ५४७ रुपैयाँ उनले खर्च गरेको देखिन्छ । २०७९ साउन २२ गते सिंगापुरको चाँगी एयरपोर्ट टर्मिनलबाट टिफानी एण्ड कम्पनीको सेतो सुन किन्नका लागि उक्त रकम खर्चिएको पौडेलले बयान गरेका छन् । त्यस बाहेक स्वदेशमा पनि २०७९ फागुन २९ गते उनले १२ लाख रुपैयाँको गहना खरिद गरेका छन् ।
स्वदेशी बैंक मार्फत विद्युतीय माध्यमबाट गरिएको अन्य खर्च ३५ लाख ६१ हजार ३३३ रुपैयाँ रहेको छ भने स्वदेशको बैंक खातामा मौज्दात ३१ लाख १ हजार ३७ रुपैयाँ रहेको अभियोग पत्रमा उल्लेख छ । ३० लाख ३६ हजार ८१ रुपैयाँको उनले विभिन्न कम्पनीका शेयर खरिद गरेका छन् । विदेशमा बिमाको प्रिमियम नै २७ लाख ६० हजार २७३ रुपैयाँ तिर्नुका साथै स्वदेशमा पनि उनले ७ लाख ३९ हजार १२५ रुपैयाँ बिमाको प्रिमियम तिरेका छन् ।
दाजु भाउजूको नाममा घरजग्गा
पौडेलले आफ्ना दाजु अनिल र भाउजू शीतल पौडेलको नाममा उपत्यकामै विभिन्न ठाउँमा जग्गा खरिद गरेको पाइएको छ । २०७७ साउन ११ गते अनिल पौडेलको नाममा काठमाडौँ–४ को कित्ता नम्बर ३१४ मा (०–२–२३ ) क्षेत्रफलको जग्गा र कित्ता नम्बर ७९४ मा ९१.४१ वर्ग मिटर क्षेत्रफलको अर्को जग्गा खरिद गरेको पाइएको छ । उक्त दुई कित्ताको जग्गा खरिदमा २ करोड रुपैयाँ खर्च भएको अभियोग पत्रमा उल्लेख छ ।
त्यसै गरी २०७८ असार ३० गते ६ करोड ५६ लाख रुपैयाँमा काठमाडौँ महानगरकै वडा नम्बर ४ मा कित्ता नम्बर ५२ को ५२३ वर्ग मिटर क्षेत्रफलको जग्गा अनिलको नाममा खरिद भएको पाइएको छ ।
२०७८ भदौ ३ गते काठमाडौँको महाकाल–८ मा १ करोड ५१ लाख रुपैयाँमा १५.६० वर्ग मिटरको एउटा कित्ता र २७४.६५ वर्ग मिटरको दोस्रो कित्ता अनिल र उनकी श्रीमती शीतल पौडेलको नाममा पनि खरिद गरेको पाइएको छ ।
त्यसबाहेक अनिल र शीतलको नाममा भक्तपुरमा पनि विभिन्न कित्ताका जग्गाहरू खरिद गरिएका छन् । २०७८ असोज ६ गते भक्तपुरको छालिङ–६ मा १० लाख ४६ हजार ४ सयमा कित्ता नम्बर ९१६ को (०–१२–०–०), कित्ता नम्बर ९१७ को (०–१२–०–०) क्षेत्रफल भएको जग्गा १० लाख ४६ हजार रुपैयाँमा किनेका छन् ।
त्यसै गरी २०७८ असोज ५ मा सोही ठाउँको कित्ता नम्बर ८३७ को (१–०–०–०) जग्गा ५२ लाख ८० हजार रुपैयाँमा, कित्ता नम्बर २५२ को (२–१५–०–०) क्षेत्रफल भएको १ करोड ५५ लाख १० हजार रुपैयाँमा खरिद गरेको अभियोग पत्रमा उल्लेख छ ।
त्यसबाहेक २०७४ कात्तिक २९ मा अनिलको नाउँमा पाल्पाको रामपुर–४ मा ७ लाख २० हजार रुपैयाँमा (०–५–१–३) र (०–१–३–०) गरी दुई कित्ता खरिद गरेको अभियोग पत्रमा उल्लेख छ ।
करारमा छिरेका पौडेलको अकुत सम्पत्ति
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थायी घर भएका तथा काठमाडौँ–३१को शान्तिनगरमा समेत घर रहेका सुनिल पौडेललाई अख्तियारको टोलीले २०८० माघ १० गते पक्राउ गरेको थियो ।
उनको घरको खानतलासी गर्दा विभिन्न पेन ड्राइभ, आइफोन, हार्ड डिस्कहरू, विभिन्न कम्पनीका ल्यापटप बरामद गरेको थियो । त्यस बाहेक उनको घरबाट ६ लाख १२ हजार ५ सय रुपैयाँ, सिंगापुर डलर १ हजार ५४४, कोरियन मुद्रा ३ लाख २१ हजार, थाईभाट ६ हजार ३७० र अमेरिकन डलर ३ सय नगद बरामद गरेको थियो ।
२०६१ जेठ २० गते सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करारमा प्रशासकीय अधिकृतको रूपमा जागिरमा प्रवेश गरेका थिए । २०६२ माघ २८ गते सम्म उनी त्यस पदमा कार्यरत रहे । २०६२ माघ २९ देखि २०६५ असार ११ गते सम्म भने उनी कुनै पनि सार्वजनिक पदमा कार्यरत थिएनन् । पछि २०६५ असार १२ गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमै पुन: करारमा कम्प्युटर इन्जिनियरको रूपमा जागिर पाउन सफल भए ।
२०७५ साउन २० गते सम्म त्यहाँ विभिन्न पदमा रही उनले काम गरे । २०७५ साउन २१ गते उनी सोही केन्द्रका कार्यकारी निर्देशकमा नियुक्त भए । २०७८ चैत २४ गते सम्म कार्यकारी निर्देशक रहेका पौडेललाई २०७८ चैत २५ गते नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको थियो । २०७९ असोज १२ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा परेका थिए ।