जनकपुरधाम:मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशको विकासमा कुपोषण बाधकको रुपमा रहेकाले सबै मिलेर हटाउनु पर्ने बताएका छन् ।

स्वास्थ्यमन्त्री सिंहले मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयको आयोजनामा “प्रदेश स्तरीय मुसहर पोषण पैरवी तथा अभिमुखीकरण” कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताएको हो ।

उनले गरिबी तथा अशिक्षाको दृष्टिकोणले मुसहर जाति पछाडि रहेकाले उनीहरूका बालबालिकाहरू तुलनात्मक रुपमा बढी कुपोषित भएकाले उनीहरूमा जनचेतनाका साथै सुपोषित बनाउनका लागि खानपानको विषयमा सचेत गर्न आवश्यक भएको बताए ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव रायले पोषण समस्यालाई खाद्य सुरक्षासँग जोडेर अगाडि बढाएको खण्डमा पोषण समस्याको समाधान गर्न सकिने बताउंदै मुसहर समुदायमा कुपोषणको अवस्था बढी भएपनि अन्य गरिब परिवारमा उस्तै अवस्था रहेको भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. उमा शङ्कर प्रसाद साहले मधेश प्रदेशमा रहेको १ लाख ८० हजार मुसहर जातिको जनसङ्ख्या भएकाले उनीहरूको बालबालिकामा कुपोषणको अवस्थामा सुधार गर्नका लागि कार्यक्रम आयोजना गरेको र यस कार्यक्रमले उनीहरूको अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नु भयो । उहाँले कुपोषणको शिकार धेरै खाने र पोषिलो खाना नहुने पनि हुने भएकाले सुपोषित हुनका लागि खानपानमा सुधार आवश्यक भएको बताए ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा जनस्वास्थ्य विज्ञ एवं निर्देशनालयका पूर्व निर्देशक विजय कुमार झाले समग्र मधेश प्रदेशको पोषणको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै मधेश प्रदेशमा मात्र ८ प्रतिशत बालबालिकाहरू गंभिर प्रकृतिको कुपोषणबाट पीडित रहेको जानकारी दिनु भयो । उहाँले मधेशमा रक्त अल्पताको प्रतिशत ५० महिलामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको