
जनकपुरधाम:गत फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना नबित्दै नयाँ समीकरणको कसरत शुरु भइसकेको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतका अनुसार भित्रभित्रै अर्को नयाँ सत्ता समीकरणको कसरतमा जुडेको छ ।
कुनै नाटकीय परिवर्तन नभए आगामी बजेट आसपास नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेर गएको स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसबीचमा धेरैपटक संवाद भएका छन् ।
दुई नेताबीचको आपसी तीतोपना धेरै हदसम्म हटेको र कांग्रेस–एमाले मिलेर जाने मोटामोटी समझदारी भएको दाबी स्रोतले ग¥यो । नेपालको संविधानअनुसार हरेक वर्षको जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने हुन्छ । ‘आगामी बजेटअगावै नयाँ सत्ता समीकरण बन्न सक्ने सम्भावना छ । यस विषयमा कांग्रेसको उच्च तह र एमाले अध्यक्ष ओलीबीच पटक–पटक कुराकानी भएको छ । नयाँ सत्ता समीकरणको सम्भावना बढेको छ,’ स्रोतले भन्यो ।
सम्भवतः वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनलगत्तै नयाँ सरकार गठनको कसरत सतहमा देखिनेछ । उक्त स्रोतका अनुसार, यसबीचमा भएका कांग्रेस–एमाले संवादका बारेमा दुवै पार्टीका दोस्रो तहका नेतालाई थाहा दिइएको छैन ।
एमाले अध्यक्ष ओली एक्लैले वार्ता गरिरहेका छन् भने कांग्रेसमा देउवाबाहेक एकाध नेतालाई मात्र यसबारे थाहा छ । यसअघिको कांग्रेस–माओवादी सत्ता समीकरण ढल्ने बिन्दुमा आइपुग्दा पनि धेरै नेतालाई के हुँदैछ भन्ने जानकारी थिएन ।
स्रोतका अनुसार इलामको चुनावलगत्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे छानबिन गर्न संसदीय समिति बन्ने सम्भावना छ । यही विषय सत्ता समीकरण अदलबदलको ’ट्रिगरिङ फ्याक्टर’ बन्ने सम्भावना छ ।
इलामको चुनावलगत्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे छानबिन गर्न संसदीय समिति बन्ने सम्भावना रहेको श्रोतको दाबी छ । शुरूमा त्यस्तो समिति आवश्यक नभएको अडान राख्दै आएको एमालेले समेत गोदावरीमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट सहकारी ठगी कान्डमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने विषय पारित गरेको छ । एमालेको उक्त निर्णयले पनि रविमाथि छानबिन हुनसक्ने संकेत गर्छ ।
सहकारी ठगीबारे संसदीय छानबिन समिति नबन्दासम्म संसद् खुल्ने संकेत नपाएको वर्तमान सत्ता समीकरण यसैगरी कांग्रेसले संसद् चल्न नदिए सरकारको नीति तथा कार्यक्रम र बजेट पारित हुन नसक्नेप्रति चिन्तित छ । नीति तथा कार्यक्रम र बजेटअगावै संसद् सुचारू गराउन कांग्रेसले उठाउँदै आएको रविमाथि छानबिनको मागलाई सम्बोधन गर्नैपर्ने दबाबमा सरकार छ ।
संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरेको कांग्रेस संसदीय छानबिनको अडानबाट पछि हट्ने संकेत छैन, बरु बुटवलको सुप्रिम सहकारीबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका कैयौं ठाउँमा रविको नाम आएपछि कांग्रेसले आफूहरूले राखेको संसदीय छानबिनको मागको औचित्य पुष्टि भएको निष्कर्ष निकालेको छ ।
रविमाथि छानबिन समिति बन्नासाथ वर्तमान सत्ता समीकरण खल्बलिन सक्ने सम्भावना रहन्छ । आफूमाथि संसदीय छानबिन भए सरकार छाड्ने धम्की रविले प्रचण्डलाई दिइसकेका छन् । चैत ६ गते प्रतिनिधि सभा बैठकमा रविको संलग्नता नरहेको दाबी गरेका प्रचण्ड पछिल्लोपटक प्रहरीको प्रतिवेदनमै नाम उल्लेख भएर आएपछि नैतिक दबाबमा छन् । सहकारी ठगीको एउटै कसुरमा दीपेश पुन जेल जाने तर, रविले उन्मुक्ति पाउने कुरा कसरी सम्भव हुन्छ ? भनेर माओवादीका नेता÷कार्यकर्ताले प्रचण्डसँग प्रश्न गरिरहेका छन् ।
नयाँ समीकरण बनेपछि सबैभन्दा बढी असन्तुष्ट बनेका नेकपा एसका अध्यक्ष माधव नेपाल पनि निहुँ खोजेर बसेको अवस्था छ । रविमाथिको छानबिन नै अबको सम्भावित नयाँ सत्ता समीकरणको ‘ट्रिगरिङ फ्याक्टर’ (निर्णायक पक्ष) हुन सक्ने स्रोतको दाबी छ । त्यहीबेला कांग्रेस–एमाले नयाँ सरकारको प्रयासमा जुट्न सक्ने सम्भावना छ । देउवा र ओलीबीचको संवादमा अबको प्रधानमन्त्री को बन्ने भन्ने विषयमा टुंगो लागिनसकेको स्रोतको भनाइ छ ।
यसअघिको कांग्रेस–माओवादी समीकरण तोडेका एमाले अध्यक्ष ओली शुरूमा सकभर नयाँ बनेको समीकरणलाई नै लम्ब्याउने सोचमा थिए । तर, जब कांग्रेसले रविबारेको अडानमा टसमस नगर्ने रणनीति अंगीकार ग¥यो, तब ओली आफूसँग भेट्न बारम्बार समय मागेका कांग्रेसका नेताहरूसँग संवाद गर्न तयार भए र यसबीचमा ती दुई दलबीच संवाद सम्भव भएको थियो ।
यही बीचमा रुपन्देही प्रहरीले बुटवलको सुप्रिम सहकारीबाट रकम अपचलन गरेको विषयमा विस्तृत प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा पेश ग¥यो । उक्त प्रतिवेदनमा रविका नाममा समेत सहकारीको झण्डै २ करोड रकम झिकिएको विषय उल्लेख भयो । सञ्चार माध्यमले यो विषयलाई गम्भीरतापूर्वक उठाए । उक्त घटनापछि कांग्रेसले सदनमा उठाउँदै आएको रविमाथि छानबिनको विषय थप पेचिलो बन्यो र रविमाथि छानबिन गर्न सरकारमाथि दबाब बढेको स्थिति छ ।
ओली–देउवा एक हिसाबले आरोप प्रत्यारोपमा उत्रिएका थिए । तर, नयाँ वर्ष २०८१ को शुरुआती सातामा प्रवेश गर्दैगर्दा ओली–देउवाबीचको तीतो कुन हदसम्म पखालिएछ भन्ने बुझ्न गोदावरीमा सोमवार भएको नेकपाको ७५ औं स्थापना दिवसको झलक काफी छ । सबै शीर्ष नेतालाई बोलाएर सोमबार एमालेले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र ओली स्वयंले देउवाका बारेमा प्रयोग गरेका शब्दहरू नै त्यसका लागि पर्याप्त छन् ।
मञ्चमा बोलाउँदै गर्दा पोखरेलले देउवालाई ‘हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीका जेलजीवनका अनन्य मित्र’ भनेर विम्ब जोडेका थिए । देउवाबारे ओलीको टिप्पणी थियो, ‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी, विपक्षी दलका नेता, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री पनि ५ पल्ट भन्नुपर्छ– पूर्व, पूर्व, पूर्व, पूर्व, पूर्व भनेर । उहाँ काफी धेरैपल्ट प्रधानमन्त्री भएको व्यक्ति हुनुहुन्छ । र, अहिले पनि जोश तगडा छ । यसो समातेर सिँढीबाट साथ दिन्छु भन्दा म आफैं सक्छु भन्नुहुन्छ । जवान जोश छँदैछ ।’