जनकपुरधाम:देशव्यापी रूपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा मात्रै विद्यालय उमेरका आठ हजार जनाभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीको तथ्याङ्कअनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बहिर रहेका हुन् ।

विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिएका छन् । तथ्याङ्कअनुसार सर्लाहीमा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा आठ सय ३२ जना विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो ।

समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१ मा रहेको प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताउनुभयो । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालयमा ल्याइने शिक्षक रायले बताए ।

धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रूपमा जाने गर्दा पनि बालबालिका विद्यालय बाहिर रहने गरेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको