जनकपुरधाम:२०७७ सालमै कतारी उच्च प्रतिनिधिको भ्रमण हुने बताइएको थियो । तर त्यो समयमा उच्च प्रतिनिधिको भ्रमण हुन सकेन । तर त्यो बेला कसैलाई थाहा थिएन त्यसको ३८ महिनापछि कतारी राजाको भ्रमण हुनेछ । कतारी राजाको भ्रमण संगै नेपाल आउने खाडी मुलुकको राष्ट्र प्रमुखको रुपमा पहिलो व्यक्ति बनेका हुन् ।

नेपालको सम्बन्ध खाडी देशसँग ढिलो हुनुमा खाडी देशहरुको स्वतन्त्रता ढिलो हुनु प्रमुख कारण हो । सन् १९६० को दशकपछि मात्रै धमाधम स्वतन्त्रता पाएका खाडीका देशहरुसँग नेपालको सम्बन्ध तत्कालीन पञ्चायती कालमा जोडियो । जस्तै: सन् १९७२ फेबु्रअरी २५ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो नेपाल र कुवेतको । कुवेत नेपालमा पहिलो अनुदान दिने खाडी राष्ट्र हो । त्यो अनुदान आउनुमा व्यक्तिगत सम्बन्ध प्रमुख थियो ।

त्यसका कडी थिए– तत्कालीन अर्थमन्त्री भेषबहादुर थापा । उनका अमेरिकाको क्यालिफोर्निया पढ्दाका सहपाठी थिए कुवेतका अब्दुल लतिफ । लतिफ पछि गएर कुवेतको वित्तीय निकायका निर्देशक भए । त्यही आधारमा नेपालले पहिलो पटक कुवेतको ५० लाख दिनार रकम सहयोग पायो । त्यो तत्कालीन समयको ठूलो रकम भएको स्वयं थापाले आफ्नो आत्मकथा ‘राष्ट्र–परराष्ट्र’मा उल्लेख गरेका छन् ।

खाडी क्षेत्रबाट नेपालमा राजकीय भ्रमण गर्ने कतारी राजा पहिलो राष्ट्र प्रमुख हुन् । उसो त खाडी क्षेत्रमा पहिलो श्रम सम्झौता भएको देश पनि कतार नै हो । सन् २००५ मा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे हुँदा त्यो सम्झौता भएको थियो ।

केही महिना अगाडि नेपालका कूटनीतिक क्षेत्रका पत्रकारहरुसँग आफ्नो निवासमा कुरा गर्दै पाण्डेले भनेका थिए, ‘अहिलेका कतारी राजा राजकुमार हुँदैदेखि बडो चतुर थिए । उनी सक्रिय थिए । नेपालको श्रम सम्झौताको सवालमा उनको सक्रियताले काम ग¥यो ।’

नेपालसँगको श्रम सम्झौता हुँदाका कतारी राजकुमार थानी सन् २०१३ मा राजा भएका थिए । आजको उनको नेपालको राजकीय भ्रमणले दुई देशबीचको उच्चस्तरीय भ्रमणमा नयाँ अध्याय कोरेको छ ।

कतारका लागि पूर्वनेपाली राजदूत भन्छन्– कृषि, पर्यटन, औषधि र जलविद्युतमा लगानी ल्याऔं

कतारका लागि नेपाली पूर्वराजदूत नारद भारद्वाज नेपाल र कतारको प्रमुख सम्बन्धको सेतु नै श्रम भएको भन्दै अब त्यसमा अद्यावधिक गर्नुपर्ने बताउँछन् । अमेरिकाभन्दा धेरै प्रतिव्यक्ति आय भएको कतारले नेपालबाट निर्माण, सेवा तथा यातायात आदि क्षेत्रमा भएका श्रमिकलाई दिने ज्याला चैँ इजरायल र दक्षिण कोरियाको भन्दा कम भएको भन्दै उनले यस्ता कुरामा सरकारले ध्यान दिन आवश्यक भएको बताए ।

‘कतारमा वैदेशिक रोजगारमा आएकाहरुको बीमा काम गर्ने समयमा मात्रै हुन्छ । कामबाट आउँदा वा कोठामै ज्यान तलमाथि हुँदा त्यसले समेट्दैन’, उनले भने, ‘त्यसमा सरकारले लबिङ गर्ने उत्कृष्ट समय यही हो ।’

सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्झौता गरेका नेपाल र कतारले अब श्रमिक लिने र लानेभन्दा माथि उठेर लगानीमा काम गर्नुपर्ने बताउँछन् भारद्वाज ।

कतारले भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड जस्ता देशहरुबाट कृषि उपज आयातदेखि लगानी गरेको भन्दै उनले नेपालले पनि हिमाली क्षेत्रका जडिबुटी खासगरी कतारमा धेरै प्रयोग हुने अलैंची तथा अरु औषधिमा लगानी ल्याउनसक्ने बताए ।

कतारमा आफू राजदूत हुँदा रियल इस्टेटमा पनि कतारी लगानीकर्ताहरुको चासो भएको भन्दै उनले त्यसमा पनि नेपालले केही बाटो खुलाउन सक्ने बताए ।

‘कतारले पेट्रोलियम पदार्थपछिको युग कल्पना गरेर अमेरिका, बेलायत, स्विट्जरल्याण्डलगायतका देशहरुमा समेत लगानी गरेको छ’, उनले भने, ‘नेपालमा त्यस्तै लगानी आवश्यक छ । कतारले शिक्षा, स्वाथ्य, पर्यटन, निर्यात श्रृङ्खलाहरुमा राम्रो काम गरेको छ । ती क्षेत्रमा कतारी लगानी ल्याउन सकिन्छ ।’

उनले कतारी नेतृत्वसँग सीधा सम्बन्ध र सम्पर्क भएको समयमा यस्ता कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने सुझाए ।

एनआरएनए कतार अध्यक्ष पौडेल भन्छन्– श्रम सम्झौतामा कोरियाली मोडेल अपनाऔं

गैरआवासीय नेपालीहरुको संगठन एनआरएनएका कतार अध्यक्ष रमेश भट्ट अब नेपाल र कतारले सन् २००५ मा भएको श्रम सम्झौतामा अल्झन नहुने बताउँछन् ।

भट्टले नेपाल सरकारले इजरायल तथा कोरियासँग गरेको शैलीको श्रम सम्झौता कतारसँग गर्नुपर्नेमा जोड दिए ।

‘कतारमा चार लाख हाराहारी श्रमिकहरु भएको र त्यसको ९० प्रतिशत हिस्सा न्यून ज्यालामा काम गर्नेहरु छन्, अध्यक्ष भट्टले भने, ‘अब कतारको फेरिँदो अवस्थासँग जोडिन नेपालको श्रम क्षेत्र निर्यात पनि फेरिनुपर्छ । कतार सन् २०२२ को विश्वकपपछि निर्माणको चरणबाट अगाडि बढेर सेवा तथा उत्पादन क्षेत्रमा जोडिएको छ । नेपालले त्यहाँ पुग्न योग्य जनशक्ति तयार गर्नुपर्छ ।’

कतारबाट फर्किएका श्रमिकहरुको लागि सहज हुने अस्पताल तथा शिक्षाको क्षेत्रमा उसले लगानी गर्नसक्ने भन्दै उनले त्यसमा सरकारी पहल आवश्यक भएको बताए ।

कतारको दक्षता शिक्षा, स्वास्थ्य, पर्यटन तथा खेलकुदमा बढ्दो क्रममा भएकोले त्यसबाट नेपालले देखिने लाभ लिनुपर्नेमा उनले जोड दिए ।

‘म कतारमा व्यवसाय गर्ने नेपालीहरुको संस्थाको उपाध्यक्ष पनि हुँ र हाम्रो तथ्यांकमा कतारमा व्यवसाय गर्ने नेपालीहरु एक हजार हाराहारी हुनुहुन्छ’, भट्ट भन्छन्, ‘यतातर्फ पनि सरकारी ध्यान जान आवश्यक छ । कतारमा डाक्टर, इन्जिनियरलगायतका उच्च आय हुने श्रममा धेरै नेपाली पठाउने कार्यक्रम अत्यावश्यक छ । त्यसको लागि सरकारले केही बलियो आधारको सम्झौता गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको