
जनकपुरधाम:कतारले सन् २०२२ मा ‘सुरक्षा कानुन उल्लङ्घन’ गरेको भन्दै केही आप्रवासी श्रमिकलाई डिपोर्ट (देश निकाला) गरेको थियो । कतारको ‘अल बन्दरी’ कम्पनीमा काम गर्दै आएका आप्रवासी श्रमिकहरूलाई देश निकाला गरिएको थियो जसमा केही नेपाली पनि परेका थिए ।
कम्पनीले महिनौँसम्म काम गरेको तलब नदिएपछि २०० जना कामदारले विरोध जनाएका थिए । तीमध्ये ६० जना विदेशी कामदार कम्पनी बाहिर आएर विरोध प्रदर्शन गर्न थालेका थिए । त्यही बेला कतार सरकारले देशको सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै केहीलाई जेल हालेको थियो भने केही आप्रवासी कामदारलाई ‘डिपोर्ट’ गरिदिएको थियो ।
आफूले काम गरेको पारिश्रमिक माग गर्दा उनीहरू जेल जानुपर्ने तथा देश निकाला हुनुपर्ने अवस्थामा पुगेका थिए । कतार सरकारको उक्त कदमको विश्वभर नै विरोध भएको थियो ।
कतारमा आप्रवासी कामदारमाथि हुने विभेद, हिंसा, तथा अत्याचार कम हुन सकेको छैन । कतारमा काम गर्ने विदेशी कामदारहरू अझै पनि विभिन्न खालका समस्या भोग्दै आएका छन् । तर, कतारले भने विगतको तुलनामा धेरै सुधार भइसकेको प्रतिक्रिया विश्व समुदायलाई दिँदै आएको छ ।
श्रमविज्ञ तथा तथा श्रम क्षेत्रका अनुसन्धानकर्ता रामेश्वर नेपालका अनुसार कतारले केही सुधारको सङ्केत गरेको छ । कुनै समय आफ्नो देशमा कुनै समस्या नरहेको दाबी गर्दै आएको कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजक बनेपछि समस्या रहेको स्वीकार गर्दै त्यसमा सुधार गर्ने प्रतिबद्धता विश्वसमुदायलाई जनाएको थियो ।
आफ्नो देशमा विदेशी श्रमिकको अधिकार संरक्षणका लागि सुधार आवश्यक छ भनेर आत्मसात् गर्नु नै राम्रो कुरा भएको नेपालको भनाइ छ । कतारले सुधार गर्दै आए पनि त्यो पर्याप्त भने नभएको उनले बताए ।
‘आजको मितिमा आइपुग्दा आफ्नो देशमा मौका नपाइ कतारमा गएर त्यहाँको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रमिकहरूको अवस्था उस्तै छ,’ नेपालले भने ।
कतारमा विदेशी कामदारले भोग्दै आएका समस्या
विगतको तुलनामा कतारले आफ्नो देशको श्रम कानुनमा धेरै सुधार गरेको छ । विदेशी श्रमिकहरूको हक हितका लागि थुप्रै प्रयास भइरहेका छन् । तर, ती पर्याप्त हुन सकेका छैनन् । आप्रवासी कामदारमाथि हुने अन्याय, अत्याचार, अझै पनि विद्यमान रहेको अनुसन्धानकर्ता नेपालको भनाइ छ ।
उनका अनुसार कतारमा अहिले पनि शोषण, विभेद, फोर्स लेबर, मानव बेचबिखनजस्ता समस्या यथावत् छन् । ‘विभिन्न प्रकारका शोषण भइरहेका छन् । श्रम शोषण, शारीरिक शोषण तथा आर्थिक शोषण भइरहेका छन् । त्यसमा सुधार आउन सकेको छैन,’ नेपालले भने ।
त्यस्तै कतारमा काम गर्ने आप्रवासी कामदारहरूमाथि राष्ट्रियताका आधारमा विभेद हुने गरेको नेपालको भनाइ छ ।
‘कतारमा विशेषगरी राष्ट्रियताको आधारमा विभेद हुने गरेको देखियो । एउटै लेबर क्याम्पमा बस्छन्, एउटै बसले काम गर्ने ठाउँमा लैजान्छ । एउटै काम गर्छन् । महिना दिन बित्दा तलब पाउने समय हुन्छ । तर, देशगत रूपमा फरकफरक आउँछ,’ नेपालले भने ।
त्यस्तै कतारमा बाध्यकारी श्रम (फोर्स लेबर)को समस्या रहेको उनले बताए । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले फोर्स लेबर भनेर विभिन्न ११ वटा विषय किटान गरेको छ ।
त्यस्तै श्रमको नाममा मानव बेचबिखनको समस्या पनि उस्तै रहेको नेपाल बताउँछन् । ‘कतार जाने आप्रवासी कामदारहरू पनि मानव बेचबिखनमा परिरहेका छन् । माइग्रेन्ट वर्करहरू ट्राफिकिङमा पर्ने गरेका छन्, जसको नियन्त्रणका लागि कतारसँग ठोस नीति देखिँदैन,’ नेपालले भने ।
कतारमा आप्रवासी श्रमिकहरूले मानव अधिकारको प्रत्याभूति समेत गर्न नपाएको नेपालले बताए । ‘म कम्पनी परिवर्तन गर्छु भन्दा पनि नपाउने, नेपाल फर्किन्छु भन्दा पनि नपाउने अवस्था छ । कतारले सन् २०२० देखि कफला सिस्टम हटाएको थियो । तर, अहिले पनि वर्करले चाहे अनुसार कम्पनी परिवर्तन गर्न पाउँदैनन् । घर फर्किन खोज्दा पाउँदैनन्,’ नेपालले भने । श्रमिकहरूले तोके अनुसार खान, बस्नसमेत नपाएको उनको भनाइ छ ।
कतारमा हाल तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक कार्यरत छन् । हालसम्म २० लाख नेपालीले कतार गएर काम गरिसकेको अवस्था छ । कतारमा कार्यरत नेपालीहरू अधिकांश अर्धदक्ष र अदक्ष कामदारको रूपमा छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार अनुमानित ६० जना नेपाली श्रमिक कतारी जेलमा छन् । त्यस्तै ८ जना नेपाली श्रमिक कोमामा रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
कतारमा आप्रवासी श्रमिकहरूले विभिन्न समस्या भोग्दै आएको लामो समयदेखि कतारमा काम गरिरहेका एक नेपालीले बताए । १५ वर्षदेखि कतारका विभिन्न कम्पनीमा काम गर्दै आएका उनका अनुसार सन् २०२२ को विश्वकपपछि कतार पुरानै अवस्थामा फर्किएको छ ।
‘सन् २०२२ को विश्वकप अघि र त्यो बेलासम्म निकै सुधार भएको थियो । श्रमिकको हितमा धेरै कानुन बने । कुनै श्रमिक समस्या प¥यो भने तत्कालै समाधान हुन्थ्यो । अहिले कानुन छ । तर, विश्वकप अघिकै जस्तो भइसकेको छ । कानुन भएर पनि कार्यान्वयन निकै फितलो छ,’ उनले भने ।
कारण विनाको मृत्यु अर्को समस्या
एम्नेष्टी इन्टरनेशलले सन् २०१३ मा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा कतारमा आप्रवासी श्रमिकको मृत्युको विषयमा डरलाग्दो तथ्य देखाएको थियो ।
त्यो रिपोर्ट अनुसार कतारमा मृत्यु भएका श्रमिकमध्ये ७० प्रतिशतको मृत्युको कारण दिन सकेको थिएन । अर्थात् मृत्यु भएका आप्रवासी श्रमिकमध्ये ७० प्रतिशतसम्मलाई ‘नेचुरल डेथ’ भनिएको थियो ।
नेचुरल डेथ भनिदियो भने कम्पनीले श्रमिकलाई तिर्नुपर्ने क्षतिपूर्ति तिर्न नपर्ने भएकाले मृत्युको कारणलाई प्राकृतिक भनिदिने गरेको नेपालको भनाइ छ ।
काम १२ घण्टा, बीमा ८ घण्टा
कतारमा काम गर्ने श्रमिकहरूले सामान्यतया ८ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसका लागि श्रमिक बस्ने ठाउँबाट कम्पनी पुग्न २÷३ घण्टा गाडीको यात्रा हुन्छ । तर, कम्पनीले काम सुरू गरेदेखि काम सकिने बेलासम्मको मात्रै बीमा गरेका हुन्छन् ।
‘बस्ने ठाउँबाट काम गर्ने ठाउँमा जाँदा केही भयो भने कम्पनीले मतलब गर्दैन । कम्पनीले काम गर्दादेखि सकिँदासम्म मात्रै बिमा गरेको भन्दै त्यो बाहेकको समयमा समस्यामा परेका श्रमिकलाई मतलब गर्दैनन्,’ कतारमा काम गरेका एक नेपालीले भने ।