जनकपुरधाम:रामजानकी बहुउद्देश्य रंगशाला निर्माणका लागि गुठी संस्थान संग लिएको जग्गाका लागि गरेको लिज सम्झौता राष्ट्रिय खेलकुद परिषद(राखेप)ले गरेको सम्झौता रद्दमा कुनै संलग्नता नरहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले एक विज्ञप्ति जारी गर्दै रंगशाला निर्माणका लागि गुठी संग लिइएको जग्गाको लिज सम्झौता रद्द हुनुमा उपमहानगरको कुनै संलग्नता नरहेको जनाएका हुन् । उपमहानगरले राखेपले एकपक्षिय ढंगमा लिज सम्झौता रद्द गरेकोमा खेद समेत प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘ श्री राम जानकी बहुद्देशीय रंगशाला निर्माण गर्ने गरी गुठि संस्थान प्रधान कार्यालय र राष्ट्रिय खेलकुद परिषद बीच सम्झौता भई रंगशाला निर्माण गर्ने पूर्वाधार शुरु गर्न सडक निर्माण, बिजुली बती जडान, नाला व्यवस्थापन, जग्गालाई काडेतारले घेरबेर गरी सुरक्षित राखी उक्त जग्गामा मेयर कप क्रिकेट प्रतियोगिता, राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता समेत आयोजना गरिएको र उक्त रंगशाला निर्माणको आर्थिक श्रोत जुटाउन संघीय सरकार, भारतीय सरकार समेत सँग समन्वय गरी यस कार्यालयबाट र नगर प्रमुख ज्यु स्वयंले उक्त रंगशाला निर्माण गर्न व्यक्तिगत प्रयास गरी रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले यस जनकपुरधाम उप–महानगरपालिकालाई कुनै जानकारी नगराई गुठी संस्थान सँग गरिएको लिज सम्झौता एकपक्षीय रुपबाट भंग गर्ने भनि पत्राचार गरिएको कार्य प्रति यस उप–महानगरपालिकाले गम्भीर खेद प्रकट गर्दछ ।’ सो स्थानमा रंगशाला निर्माणमा यस उप–महानगरपालिकाबाट पूर्वाधार तयारीमा समेत लाखौ रकम लगानी गरिसकेको, उक्त रंगशालाको प्रचार प्रसारमा सो स्थान केन्द्रित बिभिन्न खेलकुद प्रतियागिता आयोजना गरी रंगशाला निर्माण कार्य प्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको