जनकपुरधाम:वैशाख १२ गते विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भयो । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार २०७२ साल वैशाख १२ गतेपछि हालसम्म करिब ६० हजारभन्दा बढी परकम्पहरू गएका छन् ।

नेपालमा २०३७ सालदेखि देशका विभिन्न भागमा भूकम्प मापन उपकरण राख्न थालिएको थियो । त्यस आधारमा २०३७ सालदेखि २०७२ सालसम्म नेपालमा साना ठुला गरेर करिब ८० हजार भूकम्प रेकर्ड भएको थियो । यस आधारमा २०३७ सालदेखि हालसम्म झन्डै डेढ लाख हाराहारी भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपालमा निरन्तर भूकम्प गइरहेको बताउँछन् । अधिकारीले भने–‘नेपालमा निरन्तर भूकम्प गइरहेको छ । ४ रेक्टर स्केल भन्दा तलका भूकम्प थाहा नपाउने किसिमको भएकोले अनुभूति नभएको हो । विगतमा पनि भूकम्प गइरहन्थ्यो भन्ने कुरा त्यतिबेलाको तथ्याङ्कहरूले पनि बताउँछ । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने नेपालको हिमालयमा भूकम्प गइरहन्छ ।’

अध्ययन अनुसार गोरखाभन्दा पश्चिमतर्फ भूकम्प जाने शक्ति सञ्चित भएको ५ सय वर्षभन्दा बढी समय भएको र त्यो शक्ति महाभूकम्प जानको लागि पर्याप्त हुने भनेर अहिलेसम्मको अध्ययनले देखाएको अधिकारीको भनाई छ ।

हिमालय क्षेत्रमुनि भूकम्पका लागि ऊर्जा सञ्चित भइरहेको क्षेत्र हो । दक्षिणमा भारतीय प्लेट र उत्तरतिर रहेको यूरेसियन प्लेटबिच टकराब हुँदाखेरि जमिनमुनि शक्ति सञ्चित हुन्छ । हिमालयमुनि सञ्चित भएको त्यो शक्ति विभिन्न अन्तरालमा भूकम्पमार्फत बाहिर निस्किन्छ ।

भूकम्प गइसके पछाडि फेरि अर्को शक्ति सञ्चित हुन थाल्छ फेरि त्यो सञ्चित भएको शक्ति बाहिर निस्कँदाखेरि भूकम्प जाने डा. अधिकारीले बताउँछन् । यो प्रक्रिया करोडौँ वर्षदेखि चलिरहेको उनले बताए ।

उनले भने–‘राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पहरू रेकर्ड गरिरहेको हुन्छ । अहिले हामीसँग भएका प्रविधिमा दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरू रेकर्ड भइरहेको हुन्छ । अझ त्योभन्दा साना स्केलका भूकम्प त निरन्तर गइरहेको हुन्छ । वर्षभरिको औसत रेकर्ड हेर्दाखेरि दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरू दैनिक १० वटा हाराहारीमा गइरहेको हुन्छ ।’

पश्चिमी क्षेत्र जोखिममा

समग्र नेपालको भूगोल नै भूकम्पीय जोखिममा रहे पनि पश्चिम नेपाल सबैभन्दा जोखिममा रहेको भूकम्पविद्को भनाई छ । पश्चिमी क्षेत्रमा महाभूकम्प गएको ५ सय वर्ष भएकोले त्यहाँको जमिनमुनि भूकम्पका लागि शक्ति सञ्चित भएर रहेको अधिकारी बताउँछन् । जमिनमुनिको शक्ति कहिले निस्कन्छ भन्ने निश्चित भने नहुने उनको भनाई छ ।

अधिकारी भन्छन्, ‘नेपालको पश्चिम मध्य वा पूर्व सबै क्षेत्र भूकम्पीय जोखिममा छ । पश्चिममा अहिले भर्खर जाजरकोट, बझाङमा र त्यसअघि गोरखामा गएको भूकम्पलाई हेर्दा जमिनमुनिको सञ्चित शक्ति निश्चित अन्तरालमा निस्किन्छ भन्ने हुँदैन । तरपनि साना–साना भूकम्पहरू भने गइरहेको हुन्छ ।’

उनी अगाडि भन्छन्, ‘जसमध्ये सानो–सानो भूकम्प त्यति नै छिटो–छिटो जान्छ जति भूकम्पको म्याग्निच्युड बढ्दै जान्छ त्यो ठुलो भूकम्प आउने समय पनि बढ्दै जान्छ । भनाइको अर्थ ठुला भूकम्पहरू लामो समयपछि दोहोरिन्छन् । त्यसका लागि धेरै शक्ति सञ्चित हुनुपर्छ सानो भूकम्पका लागि थोरै शक्ति सञ्चित भए पनि जाने भयो । जाजरकोटमा यसभन्दा अगाडि भूकम्प गएको हामीले सुनेका थिएनौँ । पश्चिम नेपालको कुरा गर्दा १५०५ मा गएको ठुलो महाभूकम्प गएको बुझिन्छ । त्यसभन्दा पछाडि त्यति ठुलो भूकम्प गएको छैन । जाजरकोटमा त्यसरी भूकम्प गएको अहिलेसम्म हामीलाई थाहा थिएन ।’

यता बझाङमा भने २०३७ सालमा पनि भूकम्प गएको, त्यसपछि बैतडीमा, दार्चुलामा साना भूकम्पहरू भने गएको उनले बताए । तर जाजरकोटमा र डोटीमा भने लामो समयपछि पहिलोपटक भूकम्प गएको बताए ।

जमिनमुनि जम्मा भएको ऊर्जा थोरै थोरै मात्रामा निस्कँदा साना भूकम्प जाने र यसरी सानो मात्रामा निस्कँदा धेरै पटक बाहिर निस्कनुपर्ने, अन्यथा त्यो शक्ति बाहिर ननिस्किए ठुलो भूकम्पको जोखिम रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको