जनकपुरधाम:रौतहट स्थित ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा नियम विपरीत चलेका झन्डै १७ हजार सवारी साधन लाई कारबाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना सँगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । गत साउन देखि यही बैशाख १० गतेसम्म नियम विपरीत चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए । सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाइते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ वर्षको अवधिमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा दुर्घटना न्यूनीकरणका गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाको विभिन्न स्थानमा गरेको १३ सय ४७ चेतनामूलक कार्यक्रममा ५४ हजार ६३१ जना मानिस सहभागी भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्लामा बढ्दो सवारी साधनको चाप लाई मध्यनजर गर्दै हाल सदरमुकाम गौर, चन्द्रपुर, गरुडा लगायत ग्रामीण भेगका बजारहरूमा समेत ट्राफिक बिटहरू सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।