जनकपुरधाम:भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई कार्यकक्षमै कालोमोसो दलिएको छ । बुधबार दिउँसो क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले कार्यालयमै मोसो दलेका हुन् ।
मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ’केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’ भन्दै मोसो दलेका थिए ।
कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले कालोमोसो दल्ने दुई जना पक्राउ परेको जानकारी दिए ।
पक्राउ पर्नेमा कटारी–६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर छन् ।