जनकपुरधाम:नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन् ।
अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो ।
विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।